निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले तीनै तहको निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको बिहीबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गरेका छन् । साथै बललाइृ सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताए ।
सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बल सक्षम रहने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको बताउँदै देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने छ भन्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको धारणा राखे ।
सो अवसरमा सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम लिने क्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सशस्त्र प्रहरी अधिकृतलाई सम्मान गरिएको थियो । प्रहरी बल महाविद्यालय पोखराका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्रमान श्रेष्ठले सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा २५ अधिकृतले ५४ हप्ता अवधिको तालिम हासिल गरेको जानकारी दिए ।
२०७३ माघ १३ मा प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...