पाथीभरा क्षेत्रमा लागेको आगो ३ दिनसम्म पनि नियन्त्रणमा आएन

- ताप्लेजुङ, १२ माघ ।
हिउँदको समय लागेसँगै ताप्लेजुङमा आगलागीको घटनामा वृद्धि भएको छ । गत सोमबार दिउँसोबाट पाथीभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीका कारण लालीगुराँसले ढाकेको ठूलो क्षेत्रको बन जलेर नष्ट भएको सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले बताए । सोमबार दिनभर समुदायको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हिजो दिउँसोदेखि सदरमुकामबाट प्रहरी र सेनाको टोली पनि खटिएको आगो निभाउने काम भईरहेको शेर्पाको भनाइ छ ।
प्रहरी र सेनासहित जिल्ला बन कार्यालयले पनि आगो नियन्त्रणका लागि कर्मचारी खटाएको बन कार्यालयले बताएको छ । आगो ठुलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा समस्या भएपछि चारैतिर अग्निरेखा कोर्न थालिएको स्थानीयले बताएका छन् ।
आगलागी सोमबार दिउँसो तीन बजेबाट सुरु भएको भए पनि आगलागीको कारण भने खुलेको छैन । आज पनि विहानैदेखि आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी, सेना र बनका कर्मचारी खटिरहेका छन् ।
वनमा दुर्लभ प्रजातिको लालिगुराँस र रेडपाण्डा पाईने गरेको छ । अघिल्ला वर्षहरुमा फागुन र चैतमा आगलागीका घटना हुने गरेपनि यस वर्ष असोज महिना देखि पानी नपरेको र झार पात सुकेकाले आगो चाँडो फैलीएको बन कार्यालयले बताएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...