घूस लिने नापी सर्वेक्षक अख्तियारको फन्दामा, आरोपपत्र दायर

  • काठमाडौं, ११ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि घूस लिने नापी सर्वेक्षक गणेशप्रसाद मिश्रविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले नापी कार्यालय, टोखामा कार्यरत नापी सर्वेक्षक मिश्रले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि लेखापढी व्यवसायी प्रमोद पाण्डेमार्फत एक लाख रुपैयाँ घूस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

मिश्रले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको रु एक लाख बिगो कायम गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै आयोगले घूस लेनदेन कार्यमा मतियार र सहयोगीको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी पाण्डेविरुद्ध पनि मिश्रलाई हुने सजायको आधा सजाय माग दाबी गरी आरोपपत्र दायर गरेको छ।

आजै आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, सुर्खेतबाट सञ्चालित गुटु स्वास्थ्य चौकीको भवन निर्माण कार्यमा मापदण्डविपरीत निर्माण कार्य गरी अनियमितता गर्ने कर्मचारी तथा ठेकेदारविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।

मापदण्डविपरीत निर्माण गरेको र झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने अभियोगमा आयोगले सुर्खेतका डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद शर्मा, इन्जिनियर शशिचन्द्र घिमिरे, सबइन्जिनियर मनोजकुमार यादव, लेखा अधिकृत तुलाराम तिवारी र निर्माण व्यवसायी राजविन्द्र प्रताप सापकोटाविरुद्ध जनही २६ लाख ९६ हजार ७ सय ३ रुपैयाँ बिगो जरिवाना गरी आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

Loading...