गण्डकी मेडिकल कलेज ४५ दिनदेखि ठप्प

  • काठमाडौं, १३ माघ ।

चिकित्सक निस्कासनलाई लिएर सुरु भएको विवादसँगै पोखरास्थित गण्डकी मेडिकल कलेज ४५ दिनदेखि ठप्प छ ।

पछिल्ला केही दिनदेखि वार्ता भने चलिरहेको भएपनि सहमति हुन नसकेका कारण तर, न त पठनपाठन सुरु भएको छ, न अस्पताल नै खुल्न सकेको छ ।

निष्कासित चिकित्सकहरुको पुनर्बहाली गर्नुपर्ने, करारमा रहेका कर्मचारीलाई स्थायी गर्नुपर्ने, तलव वृद्धि र समयमै तलव पाउनुपर्ने चारबुँदे माग राख्दै डा. गोपी हिराचन नेतृत्वको मेडिकल कलेजका फ्याकल्टी एशोसिएसनलेे मंसिर २८ गतदेखि आन्दोलन सुरु गरेको थियो ।गण्डकी मेडिकल कलेजमा कार्यरत डा. विनम्र बस्नेत र डा. विवेक रञ्जितकारलाई अस्पतालले निष्कासित गरेपछि विवाद सुरु भएको थियो ।

आन्दोलनका क्रममा अस्पताल प्रशासन र अन्दोलनरत पक्षबीच छ पटकभन्दा बढी वार्ता भइसकेको छ । तर, सहमति हुन सकेको छैन । निष्कासित चिकित्सकको पुनर्वाहली बाहेकका मागमा लगभग सहमति भैसकेको अस्पताल प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार खनालले जानकारी दिए ।

तर, आन्दोलनरत पक्षले निस्कासित चिकित्सकको पुनर्वाहलीको अडान छाडेका छैनन् ।

वार्तामा अस्पताल प्रशासनले करार अवधी सकिएकाले काममा राख्ने नराख्ने निर्णय अस्पतालमा निहीत हुने तर्क गर्दै आएको छ । ‘करारमा नियुक्ति गरिएका कर्मचारीलाई करार अवधी सकिएपछि राख्नै पर्छ भन्ने जरुरी हुँदैन । तैपनि भोलिका दिनमा कर्मचारीको आवश्यक परे उनै चिकित्सकलाई पहिलो प्राथमिकता दिन सकिन्छ भन्ने हाम्रो भनाइ हो,’ निर्देशक खनालले भने ।

उनका अनुसार तलव वृद्धि र समयमै तलव पाउनु पर्ने माग पूरा गर्न अस्पताल प्रशासनले दुई हप्ताको समय मागेको छ । र, गत पुस १ गतेदेखि नै लागू हुने गरी समयसापेक्ष तलब वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

संघर्ष समितिका सचिव डा. तारानाथ कोइरालाले वार्ता भइरहेको तर, सहमति हुन बाँकी रहेको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...