उपचार पाउँदा पनि 'आङ खस्ने समस्या छ' भन्न लजाउँछन् महिलाहरु


  • रोल्पा, १८ पुस ।

लिबाङ–७ की विष्णु आचार्यको पहिलो छोरी जन्मने बेला पाठेघर सरे पनि अहिलेसम्म उपचार हुन सकेको छैन। सुत्केरी अवस्थामा पधेँराको पानी बोकेर घर गएका बेला यस्तो समस्या देखिएको थियो।

त्यसपछि उनले लगातार चार सन्तानलाई जन्म दिइन्। १४ वर्षमै विवाह गरेकी गजुलकी सुशीला सेनले सानै उमेरमा बच्चा जन्माएका कारण खसेको पाठेघरको अहिलेसम्म उपचार गराइरहेकी छिन्। नियमित पाठेघरको जाँच गराउने तथा औषधि खाने उनको दिनचर्या बनेको छ। ९ छोराछोरीलाई जन्म दिएकी करेटीकी देवीसरा घर्ती सानै उमेरमा विवाह गरी पाठेघर खस्ने समस्याबाट पीडित बनेकी अर्की गृहिणी हुन्।

जाडोको मौसममा आङ दुख्ने समस्याले उनलाई निकै पिरोल्छ। आचार्य, सेन र घर्ती रोल्पाका आङ खस्ने पीडित महिलाका प्रतिनिधि पात्र हुन्। रोल्पामा सानै उमेरमा विवाह गरी बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हजारौँ महिला छन्। 

सानै उमेरमा विवाह गरी धेरै बच्चा जन्माउने तथा सुत्केरी भएको अवस्थामा उचित पोषण र स्याहारसुसार नपाएका कारण उनीहरुमा यस्तो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले बताए।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले नियमित रुपमा जिल्लाका ग्रामीण भेगमा पुगी तल्लो पेटको सफाइ गर्ने, घाउ-चोट देखिएमा उपचार गर्ने, पाठेघर खसेको समस्या पहिचान गरी परामर्श दिने लगायतका कामका लागि शिविर सञ्चालन गरिरहेको छ। पाठेघरको समस्या भएका महिला खुल्न नचाहने भएका कारण पनि समस्यामा परेका महिलाको यकिन तथ्याङ्क प्राप्त गर्न कठिन परेको बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा २०७१ सालमा स्वास्थ्य परीक्षण गरेकामध्ये स्क्रिनिङ गरिएका आठजनाको शल्यक्रिया भएको थियो। यसैगरी, २०७२ सालमा स्वास्थ्य परीक्षण गरेका २५ मध्ये २० जनाले शल्यक्रिया गरेका थिए। २०७३ सालमा रोल्पा इरिवाङमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले स्वास्थ्य परीक्षण गरेकामा आठ जनालाई जिल्ला बाहिर उपचार गर्न पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाकी ‘पब्लिक हेल्थ नर्स’ आशा थापाले जानकारी दिइन्।

आङ खस्ने समस्याका लागि स्वास्थ्य परीक्षण, स्क्रिनिङ, शल्यक्रिया तथा औषधि खरिद गर्दा लाग्ने सबै खर्चका अतिरिक्त शल्यक्रिया गर्दा जिल्ला बाहिर जानुपर्दा लाग्ने यातायात खर्चसमेत सरकारले बेर्होर्दै आएको छ। राज्यले महिलाको शल्यक्रिया गर्दा लाग्ने खर्चबापत हिमालमा प्रति बिरामी १५ हजार, पहाडमा १३ हजार र तराईमा १२ हजार रुपैयाँ दिँदै आएको छ।

तर महिलाले रोगलाई सामान्य ठान्ने र दुःख सहेर भए पनि अरुलाई नभन्ने हुँदा सरकारले दिएको निःशुल्क सेवा लिने महिलाको संख्या नबढेको हो। ग्रामीण भेगका महिलालाई स्वास्थ्य संस्थामा गई उपचार गर्नुपर्छ भन्ने शिक्षा दिन आवश्यक रहेको महिला अगुवा हीरा घले बताउँछिन्।

हरेक बस्तीमा यस्ता महिलाको सङ्ख्या अधिक रहेका कारण घरदैलोमा पुगी रोग निदानका लागि सरकारले संवेदनशीलता अपनाउनुपर्ने उनको सुझाव छ। कामको अधिक बोझ, कम उमेरमा विवाह, पोषणयुक्त आहारको अभाव, धेरै सन्तान जन्माउने चलन तथा कमजोर आर्थिक अवस्थाका कारण बढी महिला बिरामी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले बताए।

नागरिक समाजका अगुवा बिना मल्ल ग्रामीण भेगका महिला प्रजनन् स्वास्थ्यबारे खुलेर भन्न लजाउने भएका कारण पनि स्वास्थ्य संस्था महिलामैत्री बन्न आवश्यक रहेको ठान्छिन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...