तीनदल छलफल - आ-आफ्नो अडान कायमै, संशोधन विधेयक तत्काल बलपूर्वक अघि नबढाइने


  • काठमाडौं , १८ पुस ।

सत्तारुढ दलले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक तत्काल बलपूर्वक टेबल नगर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ ।सोमबारको संसद बैठक अघि प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको भनिएपनि दलहरुले आ-आफ्नो अडान कायमै राखेका कारण कुनै सहमति भने हुन सकेन ।

यसअघि कांग्र्रेस र माओवादीले सोमबार नै संशोधन विधेयक टेबल गर्ने तयारी गरेका थिए । तर, प्रमुख विपक्षी एमालेसँग सकारात्मक सम्वाद चलिरहेकाले तत्काल नै संशोधनलाई बलपूर्वक टेबल नगर्ने बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए ।

मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएपछि एमालेसहित विपक्षी ९ दलले संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

सुरुमा मधेसी मोर्चाले पनि संशोधन विधेयकमा परिमार्जनको माग गर्दै आएको थियो । तर, उसले पछिल्लो पटक अहिलेकै संशोधन विधेयक पास भएपनि स्वीकार गर्ने बताएपछि सत्तारुढ दल माओवादी र कांग्रेस संशोधन अघि बढाउने मुडमा पुगेका थिए ।

सोमबारको बैठकमा स्थानीय, प्रदेश र संघीय संसदको चुनाव आगामी मंसिरभित्र गरिसक्नु पर्नेमा सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरुको समान धारणा देखिएको छ ।

तर, संविधान संशोधन र संसदको अवरोध हटाउनेबारे अझैसम्म सहमति हुन सकेको छैन ।

बैठकमा कांग्रेस र माओवादी नेताहरुले मधेसलाई सम्बोधन गरेर चुनावमा जानु पर्नेमा जोड दिएका छन् । मधेसलाई सम्बोधन गर्ने सवालमा मतभेद भए राख्न तर, सदनको अवरोध हटाउन प्रमुख विपक्षी एमालेका नेताहरुलाई आग्रह गरेका छन् ।

जवाफमा एमाले नेताहरुले भने संसदको गतिरोध लामो समय लम्ब्याउने पक्षमा आफूहरु पनि नरहेको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...