म्यानचेस्टर र टोटनह्यामबीच अंक बराबरी


  • एजेन्सी, १९ पुस ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । म्यानचेस्टर युनाइटेडले घरेलु टोली वेष्ट ह्यामलाई २–० ले हराएको हो ।

१५ औं मिनेटमा सोफियान फिगुली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेष्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो । रेफ्री माइक डिनले युनाइटेडका फिल जोन्सलाई गरेको ट्याकलका लागि फिगुलीलाई सिधै रातो कार्ड दिएका हुन् । रेफ्रीको निर्णय विवास्दापद बनेको थियो ।

रिप्लेमा दुई खेलाडीले गम्भीर ट्याकल नभइ बल नियन्त्रणमा लिनका लागि प्रयास गरेको देखिएको थियो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको युनाइटेडको जितमा दोस्रो हाफमा आन माटा र जाल्टन इब्राहिमोविचले गोल गरे । 

६३ औं मिनेटमा माटाले युनाइटेडका लागि गोल गर्दै अग्रता दिलाए । माटाले गोल गर्नु अघि युनाइटेडका एन्टोनियो भ्यालेन्सिया गोल गर्नबाट चुकेका थिए ।

७८ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । जोसे मोरिन्होको टोलीको प्रिमियर लिगमा लगातार छैटौं जित हो । जितपछि छैटौं स्थानको युनाइटेडको ३९ अंक भएको छ ।

एक खेल कम खेलेको पाँचौं स्थानको टोटनह्यामको पनि ३९ अंक नै छ । राति भएका अरु खेलमा एभर्टनले साउथह्यामप्टनलाई ३–० तथा वेष्ट ब्रोमले हल सिटीलाई ३–१ ले हरायो । लिसेस्टर र मिडल्सबर्गले गोलरहित बराबरी खेले ।

,

प्रतिकृया दिनुहोस्

Loading...