साँढेजस्तो ट्रेड युनियनलाई हामी गोरुजस्तो बनाउछौं : खगेन्द्र शाही

  • इमान्दार मिडिया संवाददाता ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी ट्रेड युनियनहरुको चुनाव बुधबार हुँदैछ ।

आधिकारिक ट्रेड युनियनको लागि हुने चुनावी मैदानमा उत्रेको माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) का अध्यक्ष खगेन्द्र शाहीले इमान्दार मिडियासँगको कुराकानीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरु उज्यालो नेपालको पक्षमा रहेको हुनाले यो चुनाव आफुहरुले जित्ने बताएका छन् ।

प्राधिकरणमा कार्यरत विभिन्न कर्मचारीहरुले यसपटक लोडसेडिङ विरुद्ध आफ्नो भोट खसाल्ने भएकाले पनी आफ्नो संगठनले आधिकारिक ट्रेड युनियनको बाजी मार्ने उनको दावी छ । पढौ उनै शाहीसँग मान्दार मिडियाले गरेको कुराकानीको संक्षिप्त सम्पादित सारांश ।

कस्तो छ चुनावको तयारी ?

एकदम राम्रो ।

यसपटकको ट्रेड युनियनको चुनावमा कसले बाजी मार्ला, तपाईहरुले नै हो त्  ?

यसपालिको ट्रेड युनियनको चुनावमा कसले बाजी मार्ला भने प्रश्न नै छैन नि । यो पटकको चुनाव हामीले लगभग जिती सक्यौं । किन भने यहाँ कार्यरत सबै कर्मचारीहरु यसपाली उज्यालो नेपालको पक्षमा भोट गर्ने भएका छन् ।

उज्यालो नेपाल अभियान हाम्रो संगठनको परिकल्पना हो । हाम्रो भिजन हो । कुलमान सरले यसलाई कार्यन्वयनको तहबाट अगाडी बढाउनु भएको हो । त्यसैले यो चुनाब जित्ने कि नजित्ने भन्ने नै हैन । हामीले अहिले नै लगभग जिती सक्यौं, अब औपचारिकता मात्र भोलि हुने चुनालार्इ दिने हो ।

यो चुनावमा जाने मोडालिटी के हो ? कुन मोडालिटीमा तपाईहरु सहभागी हुदै हुनुहुन्छ ?

यो पटकको चुनाव प्रत्यक्ष निर्वाचित मोडालिटीमा जानुपर्छ भन्ने हाम्राे माग थियो । तर अरु संगठनका साथीहरुले त्यसो गर्दा आफु बढारिएर जाने डर देख्नुभएको रहेछ । पार्टीको आड भरोसामा प्राधिकरण भित्र राजनीति गर्ने साथीहरु यो मोडालिटीमा जान तयार भएनन्। 

त्यसैले त्यो मोडालिटीमा चुनावमा जाने हाम्रो अभियान सफल हुन् सकेन । तैपनि अहिले हामी संगठनको लोगोलाई नै मतदान गर्ने मोडालिटीमा जाँदै छौं । यो मोडालिटीमा जाँदा पनि हामी जित्ने लगभग निश्चितै भइसकेको छ ।

चुनावमा जाँदा जित्ने तपाईहरुको एजेण्डा के हो ?

हामीले चुनावमा जित्नका लागी ३ ओटा एजेन्डा तय गरेका छौं ।

१ नम्बर एजेण्डा भनेको तलब भत्ता संस्थाको खाने र पार्टीको झण्डा बोक्ने अनि कर्मचारीहरुमाथि डण्डा बर्साउने दादागिरी प्रवृतिको अन्त्य गर्ने र मार्यादित अनि अनुशासित ट्रेड युनियन बनाउने हाम्रो पहिलो एजेन्डा हो । अथवा यसो पनि भन्न सकिन्छ की प्राधिकरणले देशलार्इ डसेडिङ मुक्त गरेजस्तै हामीले ट्रेड युनियनलाई दादागिरी मुक्त बनाउने हो । 

हामीले यो चुनावमा जित्यौं भने त्यो गरेर देखाई दिन्छौ । यस बारेमा हाम्रो गीत नै छ । 'तलब भत्ता सस्थाको खाइ बोक्ने दलको झण्डा, देश जनतालाइ अन्धकारमा राख्ने छोडौ धन्दा ।'

२ नम्बर एजेण्डा भनेको प्राधिकरणलाइ एक देखी डेढ बर्ष भित्र नाफामा लिने हो । नाफामा लिने स्पष्ट कार्य योजना हामीसंग छ, यो चुनावमा जितियो भने हामी यो एजेण्डालाइ कार्यन्वयन गर्न तर्फ अगाडी बढाउने छौं ।

हाम्रो ३ नम्बर एजेण्डा भनेको प्राधिकरणका कर्मचारीको तलब भत्ता र सेवा सुबिधा राष्ट्र बैकका कर्मचारी सरह बनाउने हो । हाम्रा कर्मचारीहरुको काम चाही राष्ट्र बैकमा कर्मचारीहरुको भन्दा ४ गुणा कठिन छ, तर तलब भत्ता  भने हाम्रो भन्दा राष्ट्र बैंकका कर्मचारीहरुको ४ गुणा बढी छ ।

यसलार्इ हामीले सही ढंगले हल गर्न बिशेष पहल गर्ने हो । काम बरु बढी नै छ, त्यो ठिकै छ,  तर तलब पनि अब त्यो अनुसारको हुनपर्छ भन्ने हाम्रो जोडदार माग छ । त्यसलाई हामीले युनियनको चुनाव जितेपछि लागु गराउन बिशेष पहल थाल्ने छौ ।

के उसो भए अहिले प्राधिकरण घाटामा छ त ?

हो । अहिले बिद्धुत प्राधिकरण घाटामा छ । बार्षिक ८ देखि १० अर्ब घाटामा छ । भने संचित ३५ अर्ब घाटा छ । अब हामीले वित्तीय पुनर्संरचना गरेर प्राधिकरणलाई पुरै नाफामा लैजाने प्राधिकरणकाे व्यवस्थापनमार्फत उर्जा हुँदै अर्थ मन्त्रलाय सम्म पुगेको छ । अब हामीले जित्यौं भने  व्यवस्थापन पक्षसँग हातेमालो गरेर कार्यन्वयन गराउने छाैं ।

अबको हाम्रो यात्रा भनेको उज्यालो नेपाल यात्रा नै हो । यो यात्रा भनेको देशलाई बिद्धुतिय क्रान्तिबाट धनी बनाउने अभियान नै हो ।

यो एजेण्डा लिएर चुनावमा जादा तपार्इहरूलार्इ जितिन्छ जस्तो लागेको हो ?

हैन जित्न त जितिसकियो नी । किन की अहिलेका कमर्चारी भनेका लाटा छैनन् । उज्यालो अभियानलाई साथ दिने कर्मचारीहरुले हामीलाई साथ दिनेमा २ मत छैन । 

प्राधिकरणलाइ नाफामा ल्याउने अाधार के-के हुन् ? कसरी ल्याउनुहुन्छ नी ?

छन् हामीसंग आधारहरु। हामीले उर्जा हुँदै अर्थमन्त्रालयसम्म  वित्तीय पुनर्सर्चानको सुझाब पेशा गरेका छौं ।

त्यो के हो भने पहिलो प्राधिकरणको जुन ३५ अर्ब घाटा छ,  त्यसलाई सरकारले अपलेखन गर्नेछ । त्यसाे गराउन हामी निरन्तर लागि रहेका छौ । 

अर्को, सरकारले विदेशबाट २ प्रतिशत ब्याजमा ऋण लिएर प्राधिकरणलाइ ८ प्रतिशत ब्याजमा दिन्छ । त्यो घटाउनुपर्यो । किनकी सरकार हाम्रो अभिभावक हो, त्यसैले सरकार अभिभावक नै हुनुपर्याे साहु जस्तो हुनुभएन । अबको ब्याज कम गर्ने र पुरानो ऋण हटाउने बितिकै हामी नाफामा जाने निश्चित छ।

चुहावट घटाउने अभियानलाई अलि बढी नै जोड दिने छौं । त्यसो गर्दा बार्षिक ५ देखि ६ अर्ब आम्दानी हुन् जान्छ । जम्मा एक प्रतिशत मात्रै चुहावट घटाउन सकियो भने पनि ५० करोड बराबरकाे फाइदा हुन्छ ।

अहिले स्वदेशमा कति बिद्धुत उत्पादन हुन्छ ?

४ सय मेगावाट हुन्छ हिउदमा । टोटल ८२५ मेगावाट उत्पादन हुन्छ ।

अनी आयात चाँही नी   ?

आयात अहिले ३८० मेगावाट हुन्छ । तर नेपालमा उत्पादन भएको बिजुली भन्दा आयात भएको बिजुली धेरै सस्तो छ । नेपालका नीजि उत्पादकहरूसँग हामीले ८ रुपैया ४० पैसा प्रति युनिट खरिद गर्ने गरेका छौ भने बिदेशीसंग किन्दा जम्मा ५ रुपैया ७६ पैसामा किनिरहेका छौ । यसले गर्दा पनि प्राधिकरण फाइदामा जान्छ ।

लाेडसेडिङमुक्त गर्ने मन्त्रीको अभियानमा तपाईँहरुले निकै सहयोग गर्नु भयो नि हैन ?

मन्त्री र प्राधिकरण नेतृत्वले लोडको व्यवस्थापन गर्ने योजना अगाडि ल्याएपछि हामी यो अभियानमा सँगसँगै छौँ । हाम्रो संगठनले यो अभियानमा साथ नदिएको भए त लोडसेडिङ मुक्त हुने अभियान पनि अधुरै रहने थियो ।

तपाईहरुले जितेपछि लोडसेडिङ अन्त्यको अभियान झन् तिब्र हुने हो त ?

हो हामी यो अभियानलाई झन तीब्रता दिने छौं । प्राधिकरण नेतृत्वले ल्याएको लोड व्यवस्थापन गर्ने अभियानमा पनि हाम्रो साथ छ र हुन्छ पनि । त्यस्तै राजनीतिक नेतृत्वलाई घुस र कमिसन खुवाउने र लोडसेडिङ देखाएर, उद्योग, सोलार, व्याट्रीबाट कमिसनमा केन्द्रीत हुने प्रवृतिको पनि अन्त्य गर्ने छौ ।

यो कुरा तपाईँहरुले चुनावमा मात्रै उठाउनु भएकाे हाे या पहिला पनि उठेको थियाे ?

हैन हामीले यो बिषयबस्तुलाई पहिला पनी जाेडताेडका साथ नै उठाएका थियौँ । संगठनको बैठकमा निर्णय समेत गरेर तत्कालिन नेतृत्वलाई पटकपटक भेटेर सुझाव पनि दिएको थियौँ । तर, त्यसमा कुनै सुनावाइ वा वास्त गरिएन । अब यो युनियनमा हामीले जित्यौ भने प्राधिकरण नेतृत्वलाइ उज्यालो अभियानलार्इ सफल बनाउन झन् बल पुग्ने गरी काम गर्ने छौ ।

यो भन्दा अगाडीका ट्रेड युनियनहरुले यो एजेण्डा किन ल्याउन नसकेका होलान ?

नेपालका केही ट्रेड युनियनहरु आफ्नो मुख्य जिम्मेवारीबाट पछि हटेका छन् । ट्रेड युनियनको मुख्य काम कर्मचारी तथा मजदूरहरुको हक अधिकारका साथै नेतृत्वलाई व्यवस्थापकीय रुपमा सहयोग गर्ने हो ।

तर, यहाँका केहि यूनियनहरु मन्त्रीलाई भ्रष्टाचार गर्ने प्वाल देखाउने र ठेकेदार अनि मन्त्रीबीच दलालको रुपमा काम गर्नेहरु पनि छन् । यस्तो गर्ने केही संगठनका कारण सबै संगठन बदनाम हुने अवस्था आएको छ । हामीले अबको ट्रेड युनियनको नेतृत्व सम्हाल्ने अवसर पायौ भने यो कुरा ठिक ठाउँमा आउछ ।

२०७३ फागुन १७ मा प्रकाशित ।




, ,

प्रतिकृया दिनुहोस्

Loading...