ट्रम्पकी सल्लाहकारको सामाजिक सञ्जालमा खेदो खनियो, यस्तो छ कारण


काठमाडौं, १७ फागुन ।

सामाजिक सञ्जालमा अहिले ह्वाइट हाउसको एउटा तस्वीर भाइरल बनेको छ ।

तस्वीरमा ह्वाइट हाउसभित्र रहेको राष्ट्रपतिको कार्यालय ओभल अफिसमा एउटा गम्भीर कार्यक्रम भइरहेको देखिन्छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उपस्थित सम्पूर्ण अतिथिहरु उभिएका छन् । तर, हाइ हिल लगाएकी एक महिला भने सोफामाथि दुवै घुँडा दोब्राएर थचक्क बसेकी छिन् र मोबाइल खेलाइरहेकी छिन् ।

तस्वीरमा देखिएकी महिला अरु कोही नभएर राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकार केल्लियाने कोन्वे हुन् ।

यस्तो असभ्य बसाइलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको खेदो खनेका छन् । यसअघि उनी राष्ट्रपति ट्रम्पको विवादास्पद यात्रा प्रतिवन्ध आदेशको समर्थनमा बोल्दा पनि आलोचनाको शिकार बनेकी थिइन् ।

ओभल अफिसको कार्यालयमा ट्रम्पले राष्ट्रका ऐतिहासिक क्याम्पस र विश्वविद्यालयका नेताहरुसँग उनको प्रशासन र स्कुलबीच साझेदारीको प्रतिवद्धता व्यक्त गरेका थिए ।

ट्रम्पले आफ्ना अतिथिहरुसँग भेट गरिरहँदा कोन्वे सोफामाथि घुँडा टेकेर फोटो खिचिरहेकी थिइन् । फोटो खिचिसकेर पनि उनी मोबाइल चलाउन व्यस्त रहिन् । टि्वटर प्रयोगकर्ताहरुले उनको पोजलाई लिएर प्रश्न उठाएका छन् ।

‘तिमी सोफामा के गर्दै थियौ कोन्वे ? ओभल अफिसमा यो मर्यादित देखिएन,’ टि्वटरमा एक जनाले भनेका छन् ।

अर्काले लेखेका छन्, ‘सोफामा जुत्ता लगाएर टेक्नु हुँदैन भनेर तिमीलाई कसैले सिकाएन ?’
यसअघि पनि कोन्वेको आचरणलाई लिएर विवाद आएको थियो । 

गत साता १५ जना कानूनी नैतिकताका प्राध्यापकहरुले उनको खराब आचरणका विषयमा ह्वाइट हाउसमा उजुरी गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...