झापाका राजनीतिक दलहरुले भने - तत्काल स्थानीय निर्वाचनको मिति तोकिनुपर्छ



भद्रपुर, २३ माघ ।

सबै दलको सहमतिमा तत्काल स्थानीय निर्वाचनको मिति तोक्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् ।

विर्तामोडमा आज भएको छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचनका लागि सबै दल सहमतिमा आउनुपर्नेमा जोड दिएका हुन् ।

असन्तुष्ट दलको भावनालाई समेत समेटेर सबै दलको सहमति र सहकार्यमा स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा उनीहरुको भनाइ थियो ।

स्थानीय निकायको पुनःसंरचना सम्बन्धी खाका तयार भइसकेको अवस्थामा निर्वाचन गर्दा पुरानो संरचनामा फर्कन नहुने साझा धारणा पनि उनीहरुको थियो ।

केही दलले नयाँ संरचनामा चुनाव हुन नसके एक पटकलाई पुरानै संरचनामा चुनाव गर्न पनि सरकार तयार हुनुपर्ने बताएपनि अधिकांशले भने नयाँ संरचनामा मुलुक अगाडि बढिसकेकाले पछाडि फर्कन नहुने बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मण खड्काले सबै दलको अर्जुनदृष्टि अब निर्वाचन हुनुपर्ने बताउँदै सहमतिका लागि एमालेले आफ्नो हठ त्याग्नुपर्ने र मधेसवादी पनि लचिलो बन्नुपर्ने बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले अब मुलुकमा निर्वाचनको विकल्प नभएको बताउँदै आगामी फागुन २१ बाट एमालेले मेचीको काँकरभिट्टादेखि महाकालीसम्म चुनवाका लागि दबाब दिन अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । संविधानमा सबैको अधिकार प्रत्याभूति भएकाले त्यसलाई बुझाउन नसकिएको तर संविधान संशोधन आवश्यक नरहेको उनको जिकिर थियो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देशले असन्तुष्ट दलको जायज माग सम्बोधन गरी निर्वाचनका लागि माहोल सिर्जना गर्नुपर्ने बताए ।

राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौलाले असन्तुष्ट दलहरुबीच न्यूनतम सहमति गरी तत्काल निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

नेकपा मालेका जिल्ला सचिव नवराज खरेलले स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भन्दै त्यसको लागि आफ्नो पार्टी तयार रहेको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...