ओलीले प्रचण्डलाई भने- मैले भिड्न आऊ भन्न मिल्दैन, तपार्इ सम्हालिएर बोल्नुस्
- काठमाडौं,१९ माघ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्हालिएर बोल्न सुझाव दिएका छन् ।
एमालेको फागुन २१ गतेदेखि हुने मेची महाकाली अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री भएर के कुरा बोल्न हुन्छ र के हुँदैन भनेर विचार गर्न सुझाव दिएका हुन् ।
देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको आरोप ओलीले लगाए ।
‘देशभक्तहरुविरुद्ध उत्रिन प्रधानमन्त्रीले उक्साउँदै हुनुहुन्छ,’ बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले हुने हो ।’
‘हामीले त वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साउँदै हुनुहुन्छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार मात्र वाइसिएलका कार्यकर्तालाई उग्रराष्ट्रवाद विरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिएका थिए । एमाले प्रमुख प्रतिपक्षी भएर पनि चर्का कुरा नगरेको साथै सरकारसँग जोरी खोजेर भिडी हालौं नभनेको ओलीको भनाई छ ।
संसदीय व्यवस्था भएका जुनसुकै देशमा पनि लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने परम्परा रहेकोमा सत्तापक्षका दलले बहादुरी देखाएर आफैं राखेको भन्दै उनले व्यङ्ग्य गरे ।
कांग्रेसले प्रस्ताव गर्ने र माओवादीले समर्थन गर्ने स्थितिमा अब प्रमुख प्रतिपक्षी दल पनि आफ्नैलाई छान भन्दै ओलीले सत्ता पक्षप्रति व्यङ्ग्य गरे ।
उनले चुनावको मिति छिट्टै घोषणा गर्न माग गरे । सत्तामा रहेका र सत्ताको समर्थन गरेका दलले तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु भनेर नागरिकलाई झुक्याउने प्रयास गरिरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
प्रतिकृया दिनुहोस्
Loading...