गुण्डाहरुले तर्साउन थालेपछि पोखराका व्यवसायीद्वारा जीउधनको संरक्षण गरिदिन आग्रह


पोखरा, ८ फागुन ।


पोखराको नयाँबजारस्थित सस्तोबजारका साना स्वरोजगार व्यवसायीहरुले आफुहरुलाई केही दिनयता गुण्डाहरुले धम्काउने तर्साउने र बजारमा आतंक मच्चाउने काम गरेको भन्दै आफ्नो जीउधन र व्यवसायको संरक्षणका लागि पहल गरिदिन कास्कीका विभिन्न राजनीतिक पार्टी, मानवअधिकारकर्मी र पत्रकारहरुसँग आग्रह गरेका छन् ।

सस्तोबजारका स्वरोजगार व्यवसायीहरुको साझा संगठन पोखरा सस्तोबजार व्यवसायी समितिका तर्फबाट अध्यक्ष केशवबहादुर भुजेलले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् ।

उक्त प्रेस विज्ञप्तिमा “पोखरामा केही वर्ष अगाडी सडक पेटीमा व्यापार गरी वस्ने साना स्वरोजगार व्यापारीहरुलाई व्यवस्थित व्यवसाय गर्न दिने गरी पोखरा उद्योग वाणिज्य संघको समन्वयतामा भएको सहमति अनुसार पोखरा सस्तो वजारको नामबाट तत्कालिन अवस्थाका साना व्यवसायी एकिकृत रुपमा व्यापार गरी वसेको” जानकारी गराउँदै “पछिल्ला दिनहरुमा साना -स्वरोजगार) व्यवसायीलाई आतंकित पार्ने गरि केही गुण्डाहरुले तर्साउने धम्क्याउने गरेकोले सुरक्षाको प्रत्याभुति गराई जिउधनको समेत रक्षा गर्नलाई आवश्यक पहल गरिदिन् हुन” अनुरोध गरिएको छ ।

विज्ञप्तिमा जनाइए अनुसार, कास्कीका कृयाशिल राजनैतिक दल र जिल्ला प्रशासन कार्यालय पोखरा उप-महानगरपालिका पोखरा उद्योग वाणिज्य संघ र पोखरा उपत्यका नगर विकास समिति र आन्दोलनरत साना व्यापारी विचको छलफल पछि पोखरा ९, नयाँ बजारमा रहेको नेपाल वायु सेवा निगमको जग्गामा राख्ने निर्णय अनुसार साना -स्वरोजगार) व्यवसायीले सो जग्गा भाडा सम्बन्धि ठेक्का पाएका भरत गुरुङ मार्फत नेपाल वायुसेवा निगमलाई निरन्तर भाडा बुझाउदै आएका छन् ।

बिज्ञप्तिमा भनिएको छ 'व्यापारीहरुको शान्ति सुरक्षा साथै स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको ग्यारेण्टीका लागि सहयोग गरिदिनुहुन जिल्लाका कृयाशिल राजनैतिक दलहरु जिल्ला प्रशासन कार्यालय, पोखरा उप-महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ नेपाल वार एसोसिएसन, पोखरा उपत्यका नगर विकास समिति, नागरिक समाज, मानव अधिकारकर्मीहरु, पत्रकारजगत, स्थानीय शान्ति समिति र सम्पूर्ण जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं ।'

सुर्यदिल इन्भेष्टमेण्ट प्रा.लि.का सञ्चालक राजेन्द्र बहादुर गोर्खाली -राजु गोर्खाली) को नाममा रहेको र्फमलाई अख्तियारी लिएको भन्दै धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष समेत रहेका तथा आफुलाई ने.क.पा माओवादी केन्द्र निकट रहेको बताउने युवराज खतिवडाले विगत ६ महिनादेखि डरधम्की दिदै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युवराज खतिवडाले २०७३ फागुन ४ गते करिब दिउँसो १२ः०० बजेको समय पारेर आफ्नै नेतृत्वमा ५० देखि ६० जना युवा समुहको नेतृत्व गर्दै गुण्डागर्दी शैलिमा आई पोखरा सस्तो बजारका व्यापारीहरु माथी ढुङ्गामुढा गरी व्यवसायीहरुलाई आतङ्कित पारेको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको कुरा पनि विज्ञप्तिमा जनाइएको छ ।

विप्लव माओवादीले दियो यस्तो चेतवानी 

यसैबीच नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा -माओवादी) कास्कीका सेक्रेटरी पुर्णजीत पुन “उभार”ले पार्टीको महाधिवेशनस्थल रोल्पाको थवाङबाट एक प्रेस विज्ञप्ति प्रकाशित गरी अन्यायपूर्ण तरिकाले सत्ता र शक्तिको दुरुपयोग गरि गुण्डागदी गर्दै जबरजस्ती सस्तो बजारमाथि दमन गर्ने र हस्तक्षेप गर्ने काम भएमा पार्टीले आवश्यक जवाफ दिन उचित प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

जिल्ला पार्टी सेक्रेटरी उभारले पोखरा सस्तो बजारमा दिनहुँ जस्तो बजारलाई अस्तव्यस्त र त्यहाँका व्यापारीहरुलाई आतंकित पार्ने गतिविधिहरुप्रति पार्टीको गम्भिर ध्यान आकर्षण भएको जनाऊ दिंदै विगतदेखि नै बजारमा केही निजी स्वार्थमा लिप्त व्यक्तिहरु तथा चुन्द्रे मुन्द्रे आवारा गुण्डाहरुले कहिले खुकरी देखाउने, कहिले व्यक्ति, व्यक्ति व्यापारीहरुलाई थर्काउने, तर्साउने गरिरहेका तथ्य फेला पारिएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्

उनले “मुख्यत नेपाल वायु सेवा निगमको घोर गैरजिम्मेवारी र बेइमानीकाकारण साथ-साथै केही विचौलियाहरुको ठूला-ठुला आर्थिक चलखेल र मनपरी गुण्डागर्दीले गर्दा पोखरा सस्तो बजारको अवस्था आज अस्थायीत्वमा रुमल्लिएको” कुरा उल्लेख गर्दै विज्ञप्तिमार्फत् “बजारलाई व्यवस्थित गराउने हाम्रो पार्टीको उद्देश्यलाई समेत चुनौति खडा गर्ने गरी त्यस्तो निर्लज्ज गतिविधिहरुमा लाग्ने विचौलिया माफिया तथा अराजक व्यक्तिहरु जो कोहीलाई समयमै सचेत रहन चेतावनी दिइएको छ ।

सस्तोबजारमा आतंक मच्चाउने कार्य जारी रहेमा यस्ताा जनविरोधी गतिविधिलाई निमिट्यान्न पार्न पार्टी पछि नपर्ने जिल्ला सेक्रेटरी उभारले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साथै उनले समस्याको उचित समाधानका लागि पहल गरिदिन पनि सम्बन्धित सरकारी निकाय, जिल्लास्थित सबै राजनैतिक पार्टीहरु पोखरा उप-महानगरपालिका तथा पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गर्दै जिम्मेवारपूर्ण तरिकाले छलफल गरि व्यापारीको गरी खाने नैसर्गिक अधिकारको ग्यारेण्टी गर्न विज्ञप्तिमार्फत माग गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...