पर्बतमा मगर सांस्कृतिक महोत्सव सुरु

पर्वत, १६ फागुन ।
पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ ।
३५ औँ मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा आइतबारदेखि महोत्सव सुरु भएको हो ।
पछिल्लो समय लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर वेषभूषा, मगर समुदायमा प्रचलित खानाका परिकार, पहिरन तथा पोसाकको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।
पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित उक्त महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुने भएको छ ।
महोत्सवमा लोपोन्मुख सोरठी नृत्य प्रतियोगिता, सालैजो भाका प्रतियोगिता, विभिन्न मगर संस्कृति र परम्परागत नृत्य प्रतियोगिता, प्रौढ भलिबल, प्रौढ बास्केटबल, पुरुष भलिबल, महिला भलिबल जस्ता खेलकुदका प्रतियोगिता आयोजना गरिएको छ ।
त्यस्तै मगर संस्कृतिका खानाका परिकार, वेषभूषा, पहिरहनको प्रदर्शन, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर छममाया पुन र सागर पुनद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पुन युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए ।
महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहने भएका छन् । आइतबारदेखि सुरु भएको महोत्सवका कारण सदरमुकाम कुश्माबजारमा चहलपहल बढेको छ ।
गाउँगाउँमा रहेका मगर समुदाय आ–आफ्नो गाउँको पहिचानसहित सदरमुकाम कुश्माबजारमा ओर्लिएका छन्।
महोत्सवको सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे। कार्यक्रमको उद्घाटन गर्दै सांसद जोशीले सबै जातजाति, समुदाय, वर्ग, लिङ्ग र जातजातिका अधिकार सुनिश्चित नभएसम्म देशमा विकासको सपना पूरा नहुने बताए ।
प्रतिकृया दिनुहोस्
Loading...