एमाले अध्यक्ष ओलीले भने संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन दिन्नौँ

  • काठमाडौँ, १५ फागुन। 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहोर्याएका छन् । 

एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गरे ।

“राष्ट्रवादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ”– नेता ओलीले भने । 

कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उनले बताए । नेपाली कांग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उनको आरोप थियो ।

“विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् रु”–नेता ओलीले प्रश्न गरे । पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले बताए । 

कार्यक्रममा पार्टी सचिव प्रदीप ज्ञवालीले युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बनेको बताए । “बुर्जुवा शिक्षा पढ्नु पर्दैन भनेर गरिब जनताका छोराछोरीलाई भड्काउने पार्टीले आफ्ना सन्तानलाई विदेशमा पढाएर आम युवा वर्गको भविष्य बिगारे, शिविरबाट बाहिरिने युवाको पैसा खोसेर पनि युवालाई शोषण गरे”– उनले भने । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र एमाले काठमाडौँ अध्यक्ष कृष्ण राईले सबै तहको निर्वाचन आगामी माघ ७ गतेअघि नै सम्पन्न गरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिका नेकपा (माओवादी केन्द्र) का बुद्धिजीवि कपन पोखरेल र मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सन्तोष खड्कालगायत समूहलाई पार्टी सदस्यतासहित अध्यक्ष ओलीले स्वागत गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...