माओवादीले हारेपनि चुनाव गराएरै छाड्छौं : प्रधानमन्त्री



काठमाडौं, २२ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्दा देशले जित्छ भने पार्टीले हार्दा पनि फरक नपर्ने बताएका छन् ।

‘मैले यतिबेला मेरो पार्टीले हार्छ कि जित्छ भनेर चिन्ता लिएको छैन । मैले पार्टीका साथीहरुलाई जनतामा जान भनेको छु । 

हाम्रो पार्टीले जित्छ वा जित्दैन, त्यो ठूलो होइन । तर, देशले जित्नुपर्छ’, नेपाल शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘संविधान कार्यान्वयन हुँदा देशले जित्छ, देशले जित्दा मेरो पार्टीले हारे पनि केही फरक पर्दैन । निर्वाचन हुँदा देशले जित्छ, जनताले जित्छन् । 

पार्टीहरु तलमाथि भइराख्छन् । तर, देशले हार्नु हुँदैन । परिवर्तनका मुद्दा र शहिदको बलिदानीले हार्नु हुँदैन ।’

उनले निर्वाचनबारे दुविधा र भ्रम पाल्नुपर्ने कुनै जरुरी नभएको भन्दै सरकार पहिला स्थानीय र त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गर्न गम्भीर रहेको बताए ।

‘सरकार आउँदो माघ ७ भित्रै सबै निर्वाचन गर्न प्रतिवद्ध छ । निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न स्पष्ट निर्देशन दिइएको छ’, प्रचण्डले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदनबारे संविधानविद र कानूनविदसँग राय लिएको छु । 

मधेशमा प्रतिवेदनबारे आवश्यक परामर्श भएको छैन, मधेशी मोर्चा पनि सन्तुष्ट छैनन् । त्यसैले स्थानीय विकास मन्त्रीको नेतृत्वमा कार्यदल बनाइएको छ । त्यसलाई १५ दिनको समय दिइएको छ, त्यसले अन्तिम प्रतिवेदन दिनपछि स्थानीय निर्वाचनको ठोस मिति तोकिन्छ ।’

उनले, सरकार नहुने निर्वाचनको पक्षमा नभएको भन्दै घोषणा गरेपछि हरहालतमा निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए ।

उनले विपक्षी दलले निर्वाचनबारे भ्रामक भ्रामक प्रचार गरेको गुनासो गर्दै भने, ‘ साथीहरु नै निर्वाचन नचाहेका त होइनन् भन्ने आशंका जन्मिएको छ । सरकार हरहालतमा निर्वाचन गर्न चाहन्छ ।’

सरकारले निकै सुझबुझका साथ सबै पक्षलाई समझदारीमा ल्याएर निर्वाचनमा जान चाहेको समेत उनले प्रष्ट पारे ।
‘मन्त्रिपरिषदको बैठकबाट निर्णय गरेर नै निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न पत्र पठाइएको हो । सरकार दोधारमा छैन । आयोगको प्रतिवेदन टुंगाउन र मधेशी मोर्चालाई समझदारीमा ल्याउन हामीलाई केही दिन चाहिन्छ । 

परिस्थितिको जटिलतालाई विचार गरेर नै सरकारले यो निर्णय गरेको हो । सरकारको निर्णयलाई दोधारे देख्ने साथीहरु नै दोधारमा हुनुहुन्छ’, प्रमले भने ।

उनले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने समेत उनले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...