नेपाल आउँने चिनियाँ इन्टरनेटलाई हिउँको अबरोध

  • रवीन्द्र शाही । काठमाडौँ १३ फागुन।
नेपाल टेलिकमले चीनबाट ल्याउने भनेको इन्टरनेट हिउँको कारण रोकिएको छ। रसुवा नाका हुँदै ल्याइने इन्टरनेटको गेटवे (अप्टिकल फाइबर) बाक्लो हिउँले पुरिएपछि व्यावसायिक सम्झौता भएको तीन महिना बितिसक्दा पनि आउन नसकेको हो।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा मंसिर २१ गते व्यावसायिक सम्झौता भएको थियो।

चीनतर्फको भागमा रहेको अप्टिकल फाइबर रिस्टोर गर्नुपर्ने र बाक्लो हिउँ जमेपछि सो काम हुन नसकेकोले इन्टरनेट ल्याउन ढिला भएको टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

चीनतर्फको भागमा रहेको अप्टिकल ब्रेक भएकोले सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने र व्यावसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले एकपटक रिस्टोर गरेर मात्र पठाउने चाइना टेलिकमले नेपाल टेलिकमलाई यसअघि नै जानकारी गराएको अधिकारीहरुले जानकारी दिएका छन्।

मार्चपछि हिउँ पग्लिने भएकोले त्यसपछि मात्र व्यावसायिक रुपमा नेपालमा चिनियाँ इन्टरनेट आउने अधिकारीले बताए। टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ। वि.सं. २०५४ सालदेखि इन्टरनेट व्यान्डवीथमा भारतीय एकाधिर रहँदै आएको छ।

‘नेपाल तर्फको सबै पूर्वाधार तयार छ’ उनले सेतोपाटीसँग भने, ‘तर चिनियाँ भूभागमा मर्मत गर्नुपर्ने भएपछि केही समय लिएको हो।’रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ। यसरी चीन र नेपाल आइपी नेटवर्कमा जोडिएपछि भारतीय एकाधिकार औपचारिक रुपमै समाप्त हुने छ।

पहिलो चरणमा टेलिकमले चीनबाट तीन जिबि भोल्यूमको इन्टरनेट ल्याउने भएको छ। यसरी आएको इन्टरनेट नेपाल टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ जाने छ। 

हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ। चीनबाट आउने इन्टरनेटको मूल्य भने त्यति सस्तो नभएको स्रोतले जानकारी दियो। 

तत्कालको फाइदा भन्दा पनि चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने बताइएको छ।

टेलिकमले भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकमार्फत ब्यान्डविथ खरिद गरिरहेको छ। यसको गेटवे भने सबमेरिन केवलमार्फत छ, जसमा सिमितता हुने प्राविधिकहरुको भनाइ छ।

हाल टेलिकमले भारतका बिएसएनएल, भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ।चीनबाट ल्याइएको ब्यान्डविथ खरिद गर्दा के कति मूल्य हुने भन्नेबारे भने दुवैपक्षले गोप्य राखेका छन्। मूल्य सार्वजनिक गर्ने प्रचलन नभएकोले आफूले त्यसबारेमा भन्न नमिल्ने साहयक प्रवक्ता अधिकारीले बताए।

दीर्घकालीन फाइदा हुने

ब्यान्डविथको मूल्य प्रविधिको गुणस्तरमा भर पर्ने भएकोले एकीकृत मूल्य नहुने भएपनि प्रतिस्पर्धी हुने टेलिकमका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए। अहिले भारतबाट ल्याइरहेको भन्दा महँगो मूल्य नपर्ने उनको भनाइ छ।

‘मूल्यमा प्रतिस्पर्धा हाम्रो अन्तिम लक्ष्य हो’ उनले भने, ‘तर त्यसमा प्रविधिले पनि भूमिका खेल्ने भएकोले ठिक यति नै हुन्छ भन्ने छैन।’

हालको लागि उपभोक्ताले महसुस गर्नेगरी मूल्य कमी नभएपनि भविष्यमा चीनका अन्य सेवाप्रदायकबाट पनि ब्यान्डवीथ ल्याएपछि मूल्य घट्ने र त्यसबाट उपभोक्ताले पनि लाभ लिने बताइएको छ।

हालको लागि चीनसँग कनेक्टीभिटीमा जोडिने कुरा नै ठूलो भएकोले तत्काल यसबाट व्यावसायिक लाभभन्दा पनि भविष्यमा यसबाट लिनसकिने लाभ प्रमुख भएको टेलिकमका उच्च अधिकारीहरुको भनाइ छ।


सेतोपाटीबाट

, ,

प्रतिकृया दिनुहोस्

Loading...