जर्मनीमा आप्रवासीमाथि दैनिक १० आक्रमण, पाँच सय ६० जना घाइते



काठमाडौं, १६ फागुन ।
जर्मनीमा गत वर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको एक प्रतिवेदनले देखाएको छ ।

सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो ।

गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थिए ।

घाइते हुनेमा ४३ जना बालबालिका छन् । आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको घरभन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । करीब एक हजार आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ । 

चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकलाई जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुवीकरण बढेको र यसले घृणाको अपराध बढाएको पनि बताइएको छ ।

यसले आतंककारी आक्रमणको खतरा बढेको विश्लेषण पनि गरिएको छ । जर्मनीले गत वर्ष दुई लाख ८० हजार आप्रवासीलाई शरण दिएको छ ।

त्यसअघिको वर्ष ६ लाख भन्दा धेरैले जर्मनीमा शरण लिएका थिए । आउँदो सेप्टेम्बरमा जर्मनीमा हुने संसदीय चुनावमा आप्रवासीको विषय नै प्रमुख बन्ने आंकलन गरिएको छ । (एजेन्सी) 

,

प्रतिकृया दिनुहोस्

Loading...