जब आफ्नै श्रीमान अर्को महिलासँग सल्केको थाहा पाएँ....
म ३२ वर्षीया विवाहित महिला हुँ । मेरो एउटा छोरा छ । मेरो विवाह भएको ६ वर्ष भैसकेको छ । हालै मैले आफ्ना श्रीमानकाे अर्को महिलासँग यौनसम्बन्ध भएको थाहा पाएँ र निकै झगडा भयो । उहाँ माफी माग्दै मसँगै माया भएको र यौनसम्बन्ध पनि मसँग मात्र भएको भन्नुहुन्छ । उहाँले जुन प्रकारले यौनइच्छा जगाउन फोर प्ले गर्नुहुन्थ्यो हिजोआज त्यस प्रकारले गर्नु हुन्न ।
त्यसले गर्दा ममा पनि रुचि नहुने, योनि सुख्खा हुने हुन्छ । यौनसम्पर्कका बेला निकै दुख्छ । श्रीमानसँग झर्को लाग्छ । म शारीरिक रूपमा पनि कमजोर छु र उहाँले भनेका बेला मानसिक रूपमा तयार हुन सक्दिनँ । यसले मेरो पारिवारिक अवस्था दिन–प्रतिदिन बिग्रँदै गएको छ । उहाँ र मबीच बाध्यताको सम्बन्ध मात्र छ । अब मलाई डर छ, कतै उहाँले बाहिर अर्की युवतीसँगको सम्बन्धलाई निरन्तरता त दिने होइन । यस्तो अवस्थामा म तपाईंको सल्लाह चाहन्छु ।
मनाेविज्ञ डा शिला शर्मा
तपाईंले राख्नुभएको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या तपाईं र तपार्इंको श्रीमानबीचको तनावका कारण सिर्जना भएको हो । योनिमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि हुने र त्यसको मनोवैज्ञानिक असर पारिरहेको हुन्छ ।
योनिमा आउने सुख्खापनले दुवैलाई अप्ठेरो हुन सक्छ । सुख्खापनका कारण पीडा हुन्छ । सन् २००९ मा ४१ वर्षदेखि ४८ वर्ष उमेरका ६ सय ७७ जना महिलामा गरिएको अध्ययनले ६८ प्रतिशत महिला यौन क्रियाकलापमा संलग्न रहेको भेटिएका थिए । बाँकी ३२ प्रतिशतमध्ये ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताएका थिए ।
त्यसैगरी ४ प्रतिशतले योनिको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिमा प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरे ।
तपाईंको उमेर यही अवस्थामा पुगेको हुनाले श्रीमान् वा तपार्इंलाई पनि अप्ठेरो भएको हुन सक्छ । चिप्लो कायम राख्न प्राकृतिक तेल वा अन्य किसिमका जेलहरू बजारमा उपलब्ध छन्, चिकित्सकको सल्लाहअनुसार तिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । त्यसैगरी तपाईंले आफू यौनका लागि इच्छुक भए–नभएको कुरा श्रीमान्सँग खुलस्त रूपमा भन्न थाल्नुहोस् । किनभने यौनमा सञ्चारको ठूलो भूमिका हुन्छ । यौनइच्छा भए त्यहीअनुरूपको आचरण गर्नुहोस् र अनिच्छा छ भने पनि आफ्नो श्रीमान्सँग भन्न सक्नुहुन्छ— आज हुन्न है ?
जहाँसम्म शारीरिक तन्दुरुस्तीको कुरा छ, अहिले शारीरिक रूपमा आफूलाई फुर्तिलो राख्ने विभिन्न किसिमका शारीरिक अभ्यासहरू गर्न मिल्छ । आधुनिकताको विकाससँगै अहिले मनोरञ्जनका धेरै क्षेत्र उपलब्ध छन् । रमाइलो र मनोरञ्जनपूर्ण स्थलमा घुम्ने वा चलचित्र हेर्ने, योग गर्ने वा यस्तै अन्य मनोरञ्जक गतिविधिमा संलग्न भएर पनि आफूलाई स्वस्थ र ऊर्जाशील राख्न सकिन्छ ।
तपाईंले यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । घरमै खाना मीठो बनाउने हो भने रेस्टुराँ वा होटल जाने प्रवृत्ति नहुन सक्छ अर्थात् यौनभित्र पनि विविधता छन् । तपाईंको श्रीमानले विविधता खोज्नुभएको छ भने त्यो पनि स्वभाविक हो ।
यसले उहाँलाई मात्र होइन, तपाईंलाई पनि राम्रै गर्छ । यो सबैको आवश्यकता हो भन्ने बुझेर त्यसैअनुरुप व्यवहार गर्न थाल्नुहोस् । तपाईंका सारा शंका निवारण भैहाल्छन् । तपाईं र तपाईंको श्रीमान्को मतभेद भैरहेको कुरा पनि यथार्थ हो र यस्तो समयमा यौनइच्छा नहुनु र सुख्खापन आउनु स्वभाविक हो ।
यौनइच्छा जगाउन गरिने फोर प्लेमा यदि तपाईं तयार हुनुहुन्छ भने यस विषयमा आफ्नो धारणा व्यक्त गर्नु आवश्यक हुन्छ । यौनसम्बन्ध राम्रो हुनुपर्छ भन्नेमा यहाँको धारणा के छ, त्यस विषयमा पनि कुरा गर्नु आवश्यक छ ।
यौनजीवनलाई रमाइलो र उत्साहजनक बनाउन दुवैको सहभागिता उत्तिकै महत्त्वपूर्ण हुन्छ । एक जनाको मात्र प्रयासले सम्भावना नहुन सक्छ, त्यसैले तपाईंहरू दुवैले दम्पतीहरूलाई प्रदान गरिने परामर्श लिनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस्
Loading...