पहिरो खसेर बागलुङको दरमखोला थुनियो, राजमार्ग अवरुद्ध

  • बागलुङ,२२ फागुन ।
बागलुङ जिल्लाको पश्चिम रिघा गाविस–७ मनेवापाटामा पहिरो खसेर दरमखोला थुनिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग माथिबाट आइतबार बिहान खसेको पहिरोका कारण बिहान ५ बजेदेखि खोला थुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।

खोला थुनिएपछि त्यहाँ ठूलो ताल बन्दै गएको छ । स्थानीय मनकुमारी शाहीको घर डुबानको खतरामा छ । अहिले शाहीको परिवार घर छोडेर सुरक्षित स्थान तर्फ लागेको स्थानीय डम्बर श्रीसले बताए । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ ।

सडक अवरुद्ध भएपछि बुर्तिबाङबाट छुटेका गाडी खरबाङमा रोकिएका छन् भने काठमाडौं तथा बागलुङबाट गएका गाडीहरु हटियामा रोकिएका छन् । 

प्रहरीले जुनसुकै बेला पहिरोले थुनिएर बनेको ताल फुट्न सक्ने भन्दै सुरक्षा सजगता अपनाउन तटिय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला थुनिएको स्थान बागलुङ सदरमुकामबाट पश्चिम तर्फ १८ कोष टाढा पर्छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...