स्थगित भएका क्याम्पसमा २ वर्षसम्म चुनाव नहुने

  • काठमाडौँ १८ फागुन । 
त्रिभुवन विश्वविद्यालयले स्थगित भएका क्याम्पसहरुको स्ववियू निर्वाचन २ वर्षसम्म नहुने जनाएको छ। त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीले स्थगित क्याम्पसहरुको स्ववियू निर्वाचन २ वर्षपछि मात्रै हुने जानकारी दिएकी हुन्। 

बुधबार रफत संचार क्लव भक्तपुरले आयोजना गरेको सांक्षात्कार कार्यक्रममा बोल्दै उनले विद्यार्थी संगठनहरुकै कारण धेरैजसो क्याम्पसहरुमा निर्वाचन हुने नसकेको पनि स्पष्ट पारिन्। 

शिक्षाध्यक्ष त्रिपाठीले स्ववियू निर्वाचन सबै क्याम्पसमा समयमै सम्पन्न गर्न विश्वविद्यालयले गरेको प्रयास विद्यार्थी संगठनकै कारण बिथोलिएको आरोप पनि लगाइन्। विश्व विद्यालय अन्तरगतको २ सय वटा क्याम्पसमा मात्रै बुधबार स्ववियू निर्वाचन भएको छ । 

विश्व विद्यालयका ६० वटा आंगिक क्याम्पसमध्ये बुधबार २२ वटा र विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १ हजार ८४ वटा क्याम्पसमध्ये करिव १ सय ५० वटा क्याम्पसमा निर्वाचन भएको छ । 

विश्व विद्यालयले निर्वाचनको परिणाम आउने क्रम सुरु भएको पनि जनाएको छ । निर्वाचनमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीबीच प्रतिस्पर्धा भएको छ ।

‘आजबाट निर्वाचन समितिको औचीत्य समाप्त हुन्छ र अब दुई वर्षपछि मात्र निर्वाचनको कार्यक्रम हुन्छ,’ उनले भनिन्, ‘आज १८ गतेपछि २०७५ फागुन १८ अगाडि कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचन हुँदैन।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...