प्रधानमन्त्री र मन्त्रीबाटै आचारसंहिताको व्यापक उल्लंघन

- काठमाडौँ २० फागुन ।
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको तीन दिन पनि नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले आचारसंहिताको ख्याल नगरेको पाइएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको हप्ता दिनपछि आयोगले आचारसंहिता लागु गरेको थियो । तर, कुनै पनि नियुक्ति, सरुवा, बढुवामा आयोगको सहमति लिएर काम गर्न सकिने भए पनि प्रधानमन्त्री दाहालले भने आयोगसँग सहमति नै नलिई बिहीबार स्वास्थ्य मन्त्रालयअन्तर्गका विभिन्न प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आयोगसँग सहमति नलिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत यादव, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.राजकुमार रौनियार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई नियुक्त गरेका हुन् । ती सबै प्रतिष्ठानको कुलपतिका हैसियतले प्रधानमन्त्री दाहालले उपकुलपतिहरु नियुक्त गरेको जनाइएको छ ।
सहकुलपति तथा स्वास्थ्य मन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित उपकुलपति छनोट समितिको सिफारिसका आधारमा प्रधानमन्त्री दाहालले ती प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिहरुका नियुक्तिका लागि सरकारले आयोगसँग सहमति नमागेको बुझिएको छ ।
यसैगरी, प्रधानमन्त्री दाहालकै पदचिन्ह पछ्याउँदै खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
आयोगले मन्त्रीहरुलाई डाकेर कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नपाइने र सहभागी भए आचारसंहिता उल्लंघन भएको ठानिने निर्देशन दिए पनि मन्त्री सिंहले भने बर्दिया पुगेर विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएका छन् ।
गत बुधबार मन्त्री सिंहले आचारसंहिताको बेवास्ता गर्दै सानोश्री तारा तालस्थित एउटा खानेपानी तथा उपभोक्ता समितिको साधारणसभाको उद्घाटन गरेका थिए ।
आचारसंहिता लागू भएपछि विकास निर्माणको उद्घाटन तथा शिलान्यास गर्न नपाइने भए पनि मन्त्री सिंहले भने आयोगको अनुमति बिना नै खानेपानीको उद्घाटन गरेका हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...
