आउँदो वर्ष हुने विश्वकप छनौटका लागि महत्वपूर्ण खेल हुँदै

  • एजेन्सी, ९ चैत ।

रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत यो हप्ता महत्वपूर्ण खेल हुँदैछन् । त्यसअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटका लागि हुने खेलमा बढी ध्यान केन्द्रित भएको छ ।

१० देश सहभागी रहेको क्षेत्रमा विश्व फुटबलमा लामो समयदेखि दबाब कायम गर्दै आएका ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चिलीसहितका देश छन् । छनौट चरणका अन्तिम खेलहरु आइपुग्दा रुस विश्वकप २०१८ मा स्थान बनाउन सबै टिमबिच कडा प्रतिस्पर्धा छ । १२ वटा खेल सकिँदा २७ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको उरुग्वेको २३ अंक छ । 

समान २० अंक भएका इक्वेडर र चिली तेस्रो र चौथो स्थानमा छन् । फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको अर्जेन्टिना १२ खेलबाट १९ अंकसहित पाँचौं स्थान तथा कोलम्बिया १८ अंकसहित छैटौं स्थानमा छ । अब चार खेल मात्रै बाँकी रहेको अवस्थामा सातौं र आठौं स्थानमा रहेका पाराग्वे र पेरुको पनि छनौट हुने सम्भावना छ ।

छनौट चरण अन्तर्गतको निकै महत्वपूर्ण खेल नेपाली समय अनुसार आउँदो शुक्रबार बिहान अर्जेन्टिना र चिली तथा उरुग्वे र ब्राजिलबिच हुनेछ । गत वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा पनि अर्जेन्टिना र चिलीबिच प्रतिस्पर्धा भएको थियो । 

त्यसमा चिलीले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । अर्जेन्टिना त्यो हारको बदला विश्वकप छनौटमा लिन चाहन्छ । चिलीले विश्वकप छनौटमा अर्जेन्टिनालाई अहिलेसम्म हराउन सकेको छैन । उसले सन् १९९६ र २००३ मा अर्जेन्टिनालाई बराबरीमा भने रोकेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...