बागलुङमा एक्कासी होटेलभित्र पसेर अन्धाधुन्ध गोली चलाउने युवक पक्राउ

  • बागलुङ, १४ बैशाख ।

ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

दिउँसो साढें ४ बजेको समयमा ढोरपाटन नगरको वडा नम्बर–१ बुर्तिबाङ बसपार्कमा रहेको न्यु बुटवल थकाली भान्छा घरभित्र पसेर अन्धाधुन्ध गोली चलाउने ३३ वर्षका श्याम रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

साबिकको ग्वालीचौर गाविस वडा नम्बर–१ तथा अहिलेको वडिगाड गाउँपालिका वडा नम्बर–५ रेमीका उनलाई भाग्दै गरेको अवस्थामा बडिगाड खोला किनारबाट पक्रेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।

उनको साथबाट एक थान अवैध पेस्तोल र त्यसमा लाग्ने ११ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले हानेको गोली होटेलको भित्तामा लागेर प्वाल परेको थियो । गोलीका कारण कुनै मानविय क्षति भने भएन ।

गोली चलेपछि त्रसित बनेका स्थानीयको खबरपछि खोजी गर्ने क्रममा बुर्तिबाङको खल्टुबोट नजिकै बडिगाड खोला तर्न लागेको अवस्थामा पक्राउ गरेको हो । उनले गोली चलाउनुको कारण खुल्न सकेको छैन् । रेशीमाथि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...