चुनावमा नेकपाबाट खतरा छ भन्दै गृहमन्त्रीले गरेको रिपोर्टिङप्रति विप्लवको आपत्ति

  • काठमाडौं, १३ बैशाख।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लवले सरकारले बन्दुकको बलमा स्थानीय चुनाव गर्छु भन्नु मुर्खता मात्र भएको बताएका छन् ।

नेकपाद्वारा बुधबार आयोजित ‘साँस्कृतिक योद्धा सम्मान कार्यक्रम’मा बोल्दै महासचिव विप्लवले सरकारले गर्न लागेको चुनावले देशलाई दलालको चङगुलमा पार्ने बाहेक केही नहुने बताए । साथै उनले जनयुद्धकालमै फ्याँकिएको चुनाव नगर्नपनि प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे ।

चुनावमा खतरा नेकपा रहेको भन्ने गृहमन्त्री विमलेन्द्र निधी रिपोर्टिङप्रति पनि महासचिव विप्लवले आपत्ति जनाए । ‘नहुने चुनाव जबर्जस्त गरेर मुठभेट निम्त्याउने कोसिस गृहमन्त्री नीधिले गरिरहेका छन् । यो नठान्नुस् कि चुनाव सजिलै हुन्छ । त्यो सपना क्षणभरमै चकनाचुर हुनेवाला छ’ महासचिव विप्लवले भने ।

उनले बन्दुक र बलको भरमा चुनाव गर्ने सपना नदेख्न पनि सरकारसँग आग्रह गरे । बन्दुक बलमा चुनाव गर्ने सोचे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार प्रचण्ड र शेरबहादुर हुनुपर्ने उनको भनाई थियो । ‘विदेशी टट्टु बनेर पैसा पचाउन गरिने चुनाव कुनै हालत हुन दिनु हुँदैन । जनताले यो कुरा गम्भीरताका साथ बुझ्नुपर्छ’ उनले भने ।

देशभर नेकपाको जनसत्ता संचालन भइरहेको अवस्थामा सरकारद्वारा घोषित स्थानीय चुनाव खारेज गर्नुपर्ने माग गर्दै एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । खारेजी अभियानमा दर्जनभन्दा बढी जनसभामा प्रहरीले हस्तक्षेप गरी मञ्च भत्काउनेसम्म गर्दै आइरहेको छ । पोष्टरिङ, वालपेन्टिङमा खटिएका कार्यकर्तालाई गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाइएको छ ।

यसैबीच सरकार जबर्जस्त चुनाव गर्न लागेको भन्दै चुनाव बिथोल्न सशक्त कार्यक्रम ल्याउने तयारी नेकपाको रहेको बुझिएको छ । कार्यक्रममा महासचिव विप्लवले जनवादी वरिष्ठ गायक रायन श्रेष्ठ, जेबी टुहुरे, खुशीराम पाख्रिन, जीवन शर्मा र जवादी कवि पूर्णबिरामलाई सम्मान गरेका थिए ।

देश र जनताको पक्षमा गीत लेखन र गायनमा जीवन दिनेहरुको जीवनको रक्षा गर्ने पार्टी नीतिअनुरुप साँस्कृतिक योद्धाहरुलाई सम्मान गरिएको कुरा महासचिव स्पस्ट पारे । यो क्रम निरन्तर चल्ने बताए । साथै देश र जनताको पक्षमा लेख्ने, गाउने युवायुवतीहरुलाई क्रमश पुरस्कृत गर्दै लैजाने नीति पनि पार्टीले लिएको बताए ।

ठूलाठूला सामन्त, फटाहहरुलाई कुर्सीबाट झार्न गीत गाउनेहरुको संरक्षण वर्तमान दलाल राज्यसत्ताले गर्दैन । उल्टै बिजोग र तिरस्कृत स्तरमा पु¥याएको छ’ कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने । कम्युनिस्ट समाजमा मात्र जनवादी साँस्कृतिककर्मीको जीवनको संरक्षण हुने भन्दै वैज्ञानिक समाजवादी सत्तामा मात्र कम्युनिस्ट समाज विकास सम्भव हुने बताए ।

एक अर्को प्रसंगमा महासचिव विप्लवले. मधेसी नेताहरुले स्थानीय चुनावलाई कारण बनाएर मधेसका जनतालाई झुक्याइरहेको बताए । चुनावलाई खारेज गरेर गाउँगाउँसम्म दलाल फास्टाउनबाट देशलाई जोगाउनु पर्ने उनले बताए । दलाल र भ्रष्टचारी नै अहिलेको मुख्य समस्या रहेको भन्दै संसदीय व्यवस्था खारेज नभएसम्म देशलाई समृद्धि बनाउन नसकिने बताए ।

हामीलाई फलो गर्नुहोस  

, ,

प्रतिकृया दिनुहोस्

Loading...