नेपाली उड्डयनमा इतिहासकै सबैभन्दा ठूलो विमान खरिद सम्झौता,२२ अर्बमा दुई नयाँ एयरबस

  • बुद्धशरण शाही ।
नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडवडी एयरबस खरिद गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेकाे छ । 

सम्झौतामा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दिपक शर्माले  शुक्रबार हस्ताक्षर गरेका हुन । पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता भएको हो । नेपाली उड्डयनमा याे इतिहासकै सबैभन्दा ठूलो विमान खरिद सम्झौता हाे ।

निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ ।

निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ ।

नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गरिसकेको छ ।

निगमले जहाज खरिदका लागि बैना रकम १ मिलियन अमेरिकी डलर माघ दोस्रो साता नै पठाइसकेको छ । नेपाललाई महँगो गन्तव्य मानिदै आएकोमा निगमले वाइडवडी विमान सेवामा लगाएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुने निगमका महाप्रवन्धक कंसाकारले इमान्दार मिडियालार्इ बताए। 

एएआरका प्रतिनिधि दिपक शर्माले नेपाल सँग यस प्रकारको सम्झौता गर्नपाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताएका छन् । हस्ताक्षर समारोहमा निगमका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

२०७३ चैत्र २५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...