सोमबारबाट देशैभर युरो–४ को तेल, प्रतिलिटर ४१ पैसा महँगो

  • काठमाडौं, २० चैत्र ।

नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ। सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताए। उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ। ‘त्यसपछि सोमबारदेखि देशैभर युरो–४ मापदण्डको इन्धन पठाउन सुरु हुन्छ,’ उनले भने। हाल युरो–३ मापदण्डको इन्धन प्रयोगमा छ।

युरो–४ इन्धनमा ५० पिपिएम सल्फर र ३५ प्रतिशत एरोबेटिक्स हुन्छ, जसले प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने निगमले जनाएको छ। हाल खपत भइरहेको युरो–३ मा सल्फर एक सय ५० पिपिएम र एरोबेटिक्स ४५ प्रतिशत हुन्छ।

आयल निगमका अनुसार आइओसीको डिपोबाट बुधबारदेखि नै युरो–४ मापदण्डको इन्धन आयात सुरु भएको हो। तर, नियमित आएको छैन। ‘बुधबारदेखि युरो–४ को इन्धन आइओसीको केही डिपोले छिटपुट रूपमा दिएका हुन्,’ प्रवक्ता पोखे्र्रलले भने, ‘तर, सम्झौताअनुसार शनिबारदेखि आधिकारिक रूपमा आउन थालेको हो र अब नियमित रूपमा यही गुणस्तरको इन्धन आउँछ।’ एक साताअघि मुम्बईमा भएको इन्धन खरिद सम्झौता नवीकरणमा १ अप्रिलदेखि युरो–४ मापदण्डको इन्धन आयात हुने व्यवस्था थियो।

आइओसीको बरौनी रिफाइनरीबाट विराटनगर, अमलेखगन्जसम्म इन्धन आउँछ। सिलगुढीबाट निगमको झापामा रहेको डिपोमा इन्धन आउँछ। त्यस्तै, रक्सोलबाट अमलेखगन्जसम्म र त्यहाँबाट काठमाडौं, जनकपुर र मन्थलीसम्म इन्धन ढुवानी हुन्छ। आइओसीको बेतालपुर डिपोबाट भैरहवा र पोखरामा तथा गोन्डा डिपोबाट नेपालगन्ज, सुर्खेत र दाङमा इन्धन पुग्छ। आइओसीको इलाहाबादमा रहेको बन्थारा डिपोबाट धनगढी र दिपायलमा इन्धन ढुवानी हुन्छ। सबै डिपोबाट युरो–४ इन्धन ढुवानी हुने निगमले जनाएको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...