उनि १ गते फुल्छिन र फक्रिन्छिन्, १ गते नै ओइलाउछिन् र झर्छिन् (डिप लभ स्टोरी)

  • इमान्दार मिडिया संवाददाता ।
सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । 

पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः ओइलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ । 

किम्बदन्तीअनुसार यो फूल मिथिलाको महिषचौंथाका राजा सलहेश र उनको प्रेमकथासँग जोडिएको छ। यो प्रेमकथा छैठौं शताब्दीतिरको हो। राजा सलहेशको विवाह सीमावर्ती भारतको मधुवनीका बलाठकी छोरी सामैरसँग भएको थियो। पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवती पनि सलहेशलाई मन पराउँथिन्। उनले सलहेशलाई प्रेम प्रस्ताव राखिन्। तर, सामैरलाई अत्यन्तै माया गर्ने सलहेशले चन्द्रवतीको प्रेम प्रस्ताव अस्वीकार गरे। यही क्रोधमा चन्द्रवतीले आफ्ना पिता राजा कुलेश्वरलाई भनेर उनलाई थुन्न लगाइन्। 

आफ्ना पति थुनामा रहेको खबर पाएपछि सामैर पकडियागढ पुगिन्। र, साथी कुसुमा मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराइन्। यता, कुसुमा मालिनीले पनि सलहेशलाई औधि मन पराउन थालिन्। तर, आफ्नै साथीका पतिलाई उनले आफ्नो बनाउन पाइनन्। यही वियोगमा उनले प्रत्येक वर्ष सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रूखमा देखा पर्ने प्रण गरिन्। 

राजा सलहेश नयाँ वर्षकै दिन कुस्ती खेल्न जनकपुर जान्थे। कुस्तीको दंगलबाट आफ्नो दरबार फर्किनुअघि माणिकदहमा नुहाउँथे। नुहाएपछि दुर्गा देवीको पूजा गर्न मन्दिर जान्थे। त्यही बेला उनको स्वागतको निम्ति बगैंचाको हारमको रूखमा फूल फुलिरहेको हुन्थ्यो। भनिन्छ, सलहेस फूल टिप्न जाँदा कुसुमा मालिनी त्यहीँ बोटको छेवैमा उभिइरहेकी हुन्थिन्। उनी आफ्नै हातले फूल टिपेर सलहेशको हातमा मालाजसरी फुर्रर खसालिदिन्थन्। र, सलहेश त्यही फूल दुर्गा देवीका पाउका चढाउँथे। 

जुन रूखमा यो फुल्छ, त्यसैको आडमा कुसुमा मालिनीको मन्दिर छ। वैशाख १ गतेको दिन यहाँ कुसुमा मालिनी फूलको माला उनेर सलहेशको प्रतीक्षामा रहने गरेको जनविश्वास छ। 


वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फुल्ने फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । 

भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ । 

भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ । 

इसाको छैटाैं सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...