भक्तपुरको बिस्केट जात्रामा अनिष्ट, लिङ्गो भाँचिद एक जनाको मृत्यु, पाँच घाइते

  • भक्तपुर, ३१ चैत । 

भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र उनको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

लिङ्गो भाँचिएर घाइते भएलगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको थियो ।

घाइते हुनेमा सूर्यविनायक–६ का सुमन तज, च्यामासिंहका रामकृष्ण दुवाल, भक्तपुर नपा–११ का बालकृष्ण लिला, कमलविनायकका कृष्णभक्त दुवाल र नासमनाका सुरेन्द्र कैती रहेको उनले जानकारी दिए ।

आज साँझ भक्तपुर नगरपालिका भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजासहितको लिङ्गो उठाउने क्रममा अचानक भाँचिएको थियो ।

लिङ्गो भाँचिएपछि स्थानीयले राति १० बजे अर्को लिङ्गो ठड्याएका छन् । स्थानीयका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको सङ्केतको रुपमा लिने गरिएको छ ।

गुठी संस्थान भक्तपुरले लिङ्गो भाँचिएमा अर्को लिङ्गो उठाउनका लागि विकल्पको रुपमा दुईवटा लिङ्गो ल्याउने गर्दछ । लिङ्गो भक्तपुरको चित्तपोलस्थिल सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरेर ल्याउने गरिन्छ ।

चैत मसान्तको दिनमा लिङ्गो उठाएर भोलि नयाँ वर्षदेखि भव्य बिस्केट जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने परम्परा छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ । जात्रामा एकजनाको ज्याग गएसंगै त्यहाँका पुजारीहरुले यो अनिष्टताको संकेत भएको बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...