कांग्रेस नेता सिटौलाले झस्किदै भने निर्वाचन हुन नदिने षडयन्त्र बढेर गयो


  • काठमाडौँ १ वैशाख ।
‘स्थानीय निकायको निर्वाचनको मिति तय भइसकेको भनिरहँदा यतिबेला निर्वाचन हुन नदिने षडयन्त्र पनि भइरहेको छ’ काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, ‘यस्तो अवस्थामा काँग्रेस अझै बढी जिम्मेवारी र होसियारीपूर्वक अघि बढ्नुपर्छ।’

स्थानीय निर्वाचनको माहौल बनाउन पार्टीका नेताहरु देशव्यापी दौडाहा गरिरहेकै बेला काँग्रेस नेता सिटौलाले चुनावबारे मात्र होइन बर्तमान सत्ता–समीकरण पनि भत्काउने र राजनीतिक अस्थिरता पैदा गर्ने तानावाना बुन्न थालिएको समेत दाबी गरेका छन्।
 
‘यस्तो भयो भने सबैभन्दा अवरोध संविधान कार्यान्वयनमा पुग्छ’ उनले भने, ‘आजसम्मका आन्दोलनले दिएका उपलव्धिहरु रक्षा गर्न पनि निर्वाचन हुन जरुरी छ।’

शान्ति प्रक्रिया र संविधान निर्माणमा काँग्रेसका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता सिटौला पछिल्ला दिनमा पार्टीत्रि तेस्रो गुटका नेताका रुपमा परिचित छन्। 

यद्यपी, काँग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेका विमलेन्द्र निधिबीच कतिपय विषयमा मतान्तर सतहमा आएपछि सिटौलालाई देउवाले अलिक सक्रिय बनाउँदै लगेको भनिएको छ।

‘त्यसैले पनि नेता सिटौलाले जे भनिरहेका छन् त्यसलाई अर्थपूर्ण रुपमा लिनु पर्ने हुन्छ’ अर्का एक केन्द्रिय सदस्य भन्छन् ‘काँग्रेसभित्र मधेसी मोर्चालाई हेर्ने र लेखाजोखा गर्ने विरोधाभाषपूर्ण दृष्टिकोणले अफ्ठेरो पारेको छ।’

सरकारले अघिल्लो संविधान संसोधन विधेयक फिर्ता लिएर दोस्रो विधेयक संसदमा दर्ता गराइसकेको छ। खासगरी मधेसी मोर्चालाई आश्वस्त पार्न र देशमा निर्वाचनको महौल बनाउन गरिएको यो कसरत पनि निष्फल हुने संकेत देखा परेका छन्। 

मोर्चाले यसप्रति असहमति जनाउँदै आन्दोलनमा जाने बताइसकेको छ। ‘चुनावलाई नै केन्द्रमा राखेर दलहरुले समस्या समाधानको वातावरण बनाउनु पर्छ’ नेता सिटौलाले भने, ‘अन्यथा मैले त राम्रो लक्षण देखेको छैन।’

नेपाल खबरबाट

,

प्रतिकृया दिनुहोस्

Loading...