उपाधि होड जितसहित रियल मड्रिड ट्रर्‍याकमा फर्कियो, रोनाल्डो र बेल बिना नै शानदार जित

  • काठमाडौं, १४ वैशाख ।

रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । गएको आइतबार भएको इएल क्लासिकोमा पराजित भएर धक्का लागेको रियल मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता गर्दै उपाधि होड ट्रर्‍याकमा ल्याएको हो ।

अवे मैदानमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा अल्भारो मोराटा, लुकास भाजक्वेज, इस्को र कास्मेइरोले एक एक गोल गरे । डिप्रोटिभोका लागि फ्लोरिन एनडन र जोसेलुले एक एक गोल गरे । क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको तथा चोटका कारण ग्यारेथ बेल मैदान बाहिर रहेको खेलमा ५४ औं सेकेण्डमा मोराटाको गोलबाट रियल मड्रिडले अग्रता लियो ।

१४ औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा एनडनले डिप्रोटिभोका लागि गोल गरे । यस्तै ४४ औं मिनेटमा भाजक्वेजले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ३–१ को अग्रता लियो । ६६ औं मिनेटमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गरे । ७७ औं मिनेटमा इस्कोले गोल गरेपछि रियलको अग्रता ५–१ मा पुग्यो ।

८४ औं मिनेटमा जोसेलुले डिप्रोटिभोका लागि गोल गरे । तर ८७ औं मिनेटमा कास्मेइरोले गोल गरेपछि रियल मड्रिड ६–२ ले विजयी भयो । जितपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३३ खेलबाट ७८ अंक भएको छ ।

एक खेल बढी खेलेको शीर्ष स्थानको बार्सिलोनाको पनि ७८ अंक नै छ । राति भएका अरु खेलमा लेगानेसले लास पालमसलाई ३–० तथा रियल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले हरायो ।

,

प्रतिकृया दिनुहोस्

Loading...