टर्कीको जनमत संग्रहमा रिसेप तैयप अर्दोगानलाई बहुमत, अब १२ बर्ष राष्ट्रपति रहने


  • काठमाडौं, ४ बैशाख ।
टर्कीमा गरिएको जनमत संग्रहमा राष्ट्रपतिको शक्ति बढाउने पक्ष विजयी भएको छ । संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीका पक्षमा रहेका राष्ट्रपति रिसेप तैयप अर्दोगानले स्पष्ट बहुमत पाएका हुन् ।

अब अर्दोगान सन् २०२९ सम्म राष्ट्रपति रहिरहनसक्ने बताइएको छ । राष्ट्रपति शासनको पक्षमा ५१ दशमलव ३७ तथा विपक्षमा ४८ दशमलव ६३ प्रतिशत मत परेको हो ।

अर्दोगानका समर्थकहरु राष्ट्रपति शासनबाट मुलुकमा आधुनिकीकरण र विकास हुने दावी गरिरहेका छन् भने विरोधीहरु निरंकुशता स्थापित गर्ने चालबाजी बताउँछन् ।

विपक्षी दलले भने यस निर्णयलाई चुनौति दिने बताएका छन् । उनीहरुले मतगणना फेरि गर्न माग गरेका छन् । ८५ प्रतिशत मतदान भएको बताइएको छ ।

एक शताब्दी अगाडी नै गणतन्त्र बनेको मुलुक टर्कीमा फेरि अर्दोगानले यसको नेतृत्व गर्ने अवसर पाउनु भएको हो । अब राष्ट्रपतिले मन्त्रीहरु नियुक्त गर्ने, फैसला जारी गर्ने, वरिष्ठ न्यायाधीश चुन्ने र संसद भंग गर्ने अधिकार पाउने छन् ।

प्रधानमन्त्रीको पद हटाइने छ भने देशको कर्मचारीतन्त्रसहितको सारा शक्ति राष्ट्रपतिको मुठ्ठीमा रहने छ ।

अर्दोगानले मुलुकमा अब फ्रान्स र अमेरिकासँग मिल्दोजुल्दो प्रणाली लागु हुने र कुर्द विद्रोह, इस्लामिक अतिवाद र सिरियाबाट आउने शरणार्थी व्यवस्थापन जस्ता विषयमा निर्णय लिन सजिलो हुने बताएका छन् ।

अर्दोगान एक दशकसम्म प्रधानमन्त्री बनेपछि सन् २०१४ मा राष्ट्रपति बनेका हुन् । (एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...