सुहागरातको समाप्ति...



विमलेन्द्र मिश्र

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । 

दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलो नै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

एकैदिनको विवाह चाँडै नै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन ।
दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो ।

त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो प्रेम विवाह थिएन । बाजा घन्कियो । दुलही पक्षका आफन्तका आँखा रसिला भए ।

एकैछिनपछि दुलही अन्माएको घर चकमन्न भयो । दुलहीलाई जन्मघरबाट कर्मघरतिर पराइहरूले बाजाको तालमा नाच्दै गाउँदै लागिरहेका थिए । अब त्यो घर सिन्धुको घर थिएन । त्यो घर जहाँ उनी जन्मिन्, हुर्किन्, खेलिन्, बढिन्, त्यो त माइतीमा परिणत भइसकेको थियो । उनी बाटाभरि कल्पना नै गरिरहिन् । उनका श्रीमान् उनी नजिकै थिए । अबका दिनमा त्यो अपरिचित लोग्नेमान्छे नै सबैभन्दा उनको नजिकको हुन्थ्यो ।आफ्ना सबै कुरा उसलाई नै समर्पित गर्नुपर्ने ।

उनी कहिले रमाएकी थिइन् भने कहिले पराइ घरसँग डराएकी थिइन् । रात परिसकेको थियो । सिन्धुलाई अनेक चलन र विधिविधानले बधूको रूपमा घरमा भित्र्याइयो । सबै खुशी थिए । रात पनि छिप्पिन लाग्यो । सिन्धुलाई दुलाहाको कोठामा लगियो । त्यस कोठाको ढोका लगाउन लगाइयो । बन्द कोठामा, एउटा नौलो मानिससँग उनको मन ढुकढुक भयो । झ्याल ढोका बन्द थिए । झ्याल ढोका सबैतिर पर्दा लगाइएको थियो ।

आजैबाट चिनेको मान्छेसँग उनलाई कुरा गर्न सहज भएन । उनी चुपचाप बसिरहिन् । सुहागरात दुलाहा र दुलही बन्द कोठामा सँगै रात बिताउने पहिलो रात, अविस्मरणीय रात, सृष्टिलाई निरन्तर अघि बढाउने क्रमको सुरूवात, पुर्खौदेखि पछ्याउँदै आएको रीति, दुई जीवनको संयोग । सुबोधको भने यो पहिलो सुहागरात थिएन । उसको पहिलो सुहागरातले उसलाई आजसम्म पनि पीडा दिँदै आएको थियो । यसरी नै केही महिना पहिले उसले पहिलो चोटि विवाह गरेको थियो । दुलहीलाई यसरी नै घर ल्याएको थियो ।

दुलही कोठामा आइसकेकी थिइन् । उसले दुलहीसँग कुरा अघि बढाउन चाहृयो । दुलही ऊबाट परपर भइन् । आखिरमा उनको त अर्कै केटासँग प्रेम भएको कुरा दुलहीले खुलस्त गरिन् । सुबोध छाँगाबाट खसेजस्तो भएको थियो । दुलहीले आफ्नो प्रेमीलाई डाकिन् र प्रेमी पनि तुरून्तै आई उनलाई लग्यो । त्यो दिन उसको सुहागरात नभइ बोझिलो रात भएको थियो । त्यो दिनदेखि ऊ सुहागरातसँग डराउँथ्यो ।

रात चकमन्न हुँदै थियो । सिन्धुले आफ्ना साथीहरूको सुहागरातका कुरा सुनेकी थिइन् । उनको एउटा साथीको श्रीमान् त सुहागरातकै बखत मादक पदार्थ धोकेर झगडा गर्न आएको थियो । यो कुराले उनी पनि तर्सिन् तर सुबोध असल थियो । आगोलाई साक्षी राखि जग्गेलाई सातफेरा लगाई नयाँ जीवन, नयाँ वातावरण र नयाँ सम्बन्ध आत्मसाथ गर्दै सङ्कल्प गरी विवाह बन्धनमा बाँधिएका यिनीहरू मन, बचन र कर्मले निश्चल र पवित्र थिए ।

पति पत्नीको प्रेमको अङ्कुर टुसाउँदै विश्वास फैलदै जाँदै थियो । प्रेम मौलाउन थाल्यो । विस्तारै लाज हराउन थाल्यो । कुरा विस्तारै अघि बढ्दै गयो । सुबोधले उनको घुम्टो खोल्यो, नाडीका हातका चुरा चलायो । उसको स्पर्श सिन्धुलाई पनि मीठो लाग्न थाल्यो । बिस्तार बिस्तार सिन्धुलाई पनि सुबोधचिनेको आˆनै मानिस झैँ लाग्न थाल्यो । उनी पनि सुबोधसँग बोल्न थालिन् ।

आखिरमा रात छिप्पिँदै गयो । सुबोधले उनलाई ओछ्यानमा आउन आग्रह गर्यो तर उनी अटेर भई जहाँको तहीँ रहिन् । सुबोधले उनको हात तानेर ओछ्यानमा लगे उनी हाँसिन् र बोलिन् – ‘छि हजूर त कस्तो मान्छे !’ भोलि बिहान भयो । रात सकियो । बिहानी भएको आभाष चराचुरूङ्गीले दिए । सिन्धु ओछ्यानमै पल्टिरहेकी थिइन् ।

एउटा नौलो अनुभूति दुबैलाई भइरहेको थियो । दुबै एकअर्काप्रति समर्पित थिए । सिन्धुको केशराशी यताउति अनुहारतिर छरिएको थियो । सिन्धु कपाल पन्छाउँदै सुबोधसँग मुस्काइन् । सुबोध पनि आˆनो जिउ तन्काउँदै सिन्धुसँग मुस्कुरायो । यसपालिको सुहागरातले सुबोधलाई चिन्ता दिएन । ऊ आफैँमा रमायो । यो सुहागरातको चाहिँ रमाइलो समाप्ति भयो ।-टप नेपाल न्यूज बाट

प्रतिकृया दिनुहोस्

Loading...