रानी जमरा कुलरियाको ६४ प्रतिशत काम पूरा, मुक्तकमैयाले पाए सट्टा भर्ना

  • धनगढी । 
कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको करिब ६४ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।आयोजना निर्माण क्षेत्र बलचौरमा बसोवास गराइएका मुक्तकमैयालाई जग्गाको सट्टा भर्ना दिई अन्यत्र पुनःस्थापित गरिएको छ । 

बलचौरको मुक्तकमैया बस्ती हुँदै आयोजनाको मूलनहरको निर्माणका लागि रेखाङ्कन गरिएपछि यसअघि नहर निर्माणमा केही समस्या उत्पन्न भएको थियो । सो क्षेत्रमा बसोवास गराइएका १६ मुक्तकमैया परिवारलाई नजिककैको काटाँक्षे गाउँमा जग्गा खरिद गरी पुनःस्थापित गराइएछि मूलनहर निर्माणमा देखिएको समस्या समाधान भएको छ । 

मुक्तकमैयालाई प्रतिपरिवार दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मुक्तकमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूलनहरको रेखाङ्कन भएको, तथा निर्माणस्थलमा परेका रुख कटानीका लागि गर्नुपर्ने प्रक्रियामा भएको ढिलाइलगायत कारण आयोजना तोकिएको समय आव २०७३÷७४ मा निर्माण सम्पन्न गर्न ढिलाइ भएको सो आयोजनाका इन्जिनियर मनिस महर्जनले बताए । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको उक्त आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण पूरा गरेको छ । 

इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिनको अधिकांश काम पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहरलगायत काम भइरहेको छ । आव २०७४÷७५ को अन्त्यसम्ममा निर्माण पूरा भई नहरमार्फत् पानी दिने लक्ष्य रहेको इन्जिनियर महर्जनले बताए । 

सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकोमा हालसम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम पूरा भएको छ । मूलनहर निर्माणको दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको रहेको छ । 

आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिपुर, नारायणपुर, मुनुवा गाविसको झन्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । नेपाल सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदान समेत गरी रु १२ अर्ब ६३ करोड २१ लाखको लागतमा सो आयोजना निर्माण भइरहेको हो 

२०७४ जेठ १७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...