पत्रकार विकाश भट्टराई हरमटारीबाट गिरफ्तार


गाेर्खा ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखा कार्यसमिति सदस्य विकाश भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

समाचार संकलन गरेर कार्यालय फर्कने क्रममा बिना पुर्जी प्रहरीले हरमटारी बजारबाट भट्टराईलाई गिरफ्तार गरेको हो ।

उनलाई गैरकानूनी रुपमा गिरफ्तार गरेको भन्दै आमसंचारकर्मीले विरोध जनाएका छन् । पत्रकार भट्टराईलाई विनासर्त अविलम्ब रिहा गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रका सचिव प्रभात चलाउनले पत्रकार भट्टराईको तत्काल रिहा गर्न माग गरेका छन् । ‘पत्रकार आफ्नो व्यावसायिक कर्ममा खटिरहेका बेला बिनापूर्जी पक्राउ गर्नु कानूनको ठाडो उल्लंघन हो । उहाँलाई तुरुन्त रिहा गर्न माग गर्दछौं’ सचिव चलाउनले भने ।

पछिल्लो समयमा राज्यले प्रेससम्बन्धी संविधानमा व्यवस्था गरिएको विचार, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको धज्जी उडाउने क्रमलाई तीव्रता दिएको बताउँदै अहिलेसम्म देशभरबाट गिरफ्तार गरिएका सम्पूर्ण पत्रकारलाई तुरुन्त रिहा गर्न नेपाल पत्रकार महासंघले सरकारसँग जोडदार माग गर्दै आइरहेको छ ।

राज्यले प्रेसजगतलाई आतंकित पार्ने सिलसिलालाई निरन्तरता दिइरहेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा सचिव मोहन पन्तले चिन्ता व्यक्त गरेका छ् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाकी उपाध्यक्ष सिर्जना तिम्सिनाले पत्रकार भट्टराईको बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेकी छन् । लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेससँग राज्य डराउनुपर्ने कुनै कारण नभएको उनले बताइन् ।

‘कार्यसमिति सदस्य भट्टराईलाई अनाहकमा पक्राउ गरेर सरकारले प्रेस कानूनको धज्जी उडाउनेकाम गरेको छ । यस कार्यको घोर भत्सर्ना गर्दर्छाैं’ उपाध्यक्ष तिम्सिनाले भनिन् ।

भट्टराई नेटपत्रिका डटकमका निर्देशक समेत हुन् । के कारण उनलाई गिरफ्तार गरिएको हो भन्नेबारे अहिलेसम्म केही बताएको छैन ।

२०७४ जेठ २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...