आज २५६१औँ बुद्ध जयन्ती,भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

काठमाडौं । 

आज वैशाख शुक्ल पूर्णिमा अर्थात्  २५६१औँ बुद्ध जयन्ती । भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले देशभर २५६१औँ बुद्ध जयन्ती मनाइरहँदा विभिन्न स्थानमा ‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धसँग सम्बन्धित अधिकांश महत्वपूर्णस्थल ओझेलमा परेको अवस्था छ । धार्मिक र पर्यटकीय दृष्टिकोणसहित पौराणिक महत्व राख्ने यस्ता स्थलको उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको हो ।

नवलपरासीमा भगवान् गौतम बुद्धसँग सम्बन्धित रामग्राम स्तुप गौतम बुद्धको अस्थिधातु रहेको स्थल रहेको छ भने बन्जरियामा रहेको पण्डितपुर जुन कोलिय गणराज्यको राजधानी हुन सक्ने पुरातत्व विभागको प्रारम्भिक उत्खननबाट पुष्टि भएको छ । त्यसैगरी, भगवान् गौतम बुद्धको आफन्तको घर भएको स्थान भनेर चिनिने र नुहाउने एउटा पोखरी रहेको नवलपरासीको सुनवल तरगौली पनि पूर्णरुपमा ओझेलमा परेको अवस्था छ ।

विश्वका आठओटा ठाउँमा भगवान् गौतम बुद्धको अस्थिधातु राखिएका मध्ये नवलपरासीको रामग्राम स्तुपमा मात्र सिंगो र सुरक्षित छ तर उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको छ । महत्वपूर्ण धार्मिकस्थलमध्ये रामग्राम स्तुप पनि एक हो तर यसको विकासका लागि लुम्बिनी विकास कोष एवम् स्थानीयस्तरका निकायबाट पनि कुनै पहल भइरहेको छैन । यसैगरी, नवलपरासीको पण्डितपुर जुन प्राचीन महत्व बोकेको कोलिय गणराज्यको सम्भावित राजधानी हुनसक्ने पुरातत्व विभागले पुष्टि गरेपनि ओझेलमै छ । यो स्थानको पनि सरकारी स्तरबाट उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको हो ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५ सय ६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

रामग्राम स्तुपको इतिहास

करीब २६ सय वर्षपहिले देखिको इतिहास बोकेका विश्वका सम्पूर्ण स्तुपमध्ये एक सिङ्गो स्तुप जहाँ भगवान् गौतम बुद्धको सिङ्गो अस्थिधातु रहेको स्थल नवलपरासी जिल्लाको परासी सदरमुकामदेखि ३.५ किमी दक्षिण पूर्वमा रहेको रामग्राम स्तुप हो जुन विश्व प्रसिद्ध रहेको छ । इतिहास अनुसार भगवान् गौतम बुद्ध ३५ वर्षको उमेरमा सिद्धि प्राप्त गरी गौतम बुद्धको नामले प्रसिद्ध भई ८० वर्षको उमेरमा कुशीनगरमा वैशाख पूर्णिमा मङ्गलवारको रातमा निधन भयो । उनको लास जलाइयो । लासबाट अधिकांश अस्थि मोतिका रुपमा परिणत भयो ।

वैशाली, कपिलवस्तु, अल्लकप्प, वेठ्ठदीप, पावा र रामग्राम कोलीय देशका राजाहरुले त्यो अस्थिधातुको माग गरे तर कुशीनगरका मल्ल राजाले कसैलाई पनि दिन तयार भएनन् र त्यही राज्यका आचार्य द्रोणले सबैलाई सम्झाए । तपाईंहरु यस कुरालाई लिएर हिंसात्मक बन्नुहुन्छ, झगडा गर्नुहुन्छ भने त्यो ठीक हुन्न । जुन भगवान् गौतम बुद्ध हिंसाका विरोधी हुन्, झगडा हुँदा सम्झाई बुझाई मेलमिलाप गराउने काम गर्थे, आज उनकै अस्थिका लागि यस्तो झगडा गर्नु ठीक छैन, बरु यस्तो गरौँ – तपाईंहरु आठजनाले त्यसलाई आठ भागमा बाँड्नुस् जसले गर्दा आठ दिशामा स्तुपको निर्माण पनि हुन्छ र इतिहासमा पनि अमर रहन्छ । जुन अल्लकप्प, वैशाली, कपिलवस्तु, वेठ्ठदीप, पावा, मगध, कुशिनगर र रामग्रामका राजाले आ–आफ्नो ठाउँमा लगेर राखेको विश्वास गरिएको छ ।

यस रामग्रामका राजा रामले पनि राजधानी रामग्राममा अस्थिलाई राखी त्यसको माथि ठूलो सुन्दर स्तुपको निर्माण गरे जुन आज ‘रामग्राम स्तुप’ को नामले विश्वभरि प्रख्यात भएको छ । यति प्रख्यात ऐतिहासिक, पुरातात्विक महत्वको सुन्दर ठाउँ नेपालमा हुँदाहुँदै पनि रामग्राम स्तुपको विकास हुन सकिरहेको छैन । यहाँ बर्से्नि हजारौँ हजारको सङ्ख्यामा स्वदेश तथा विभिन्न देश जस्तै जापान, मलेसिया, कोरिया, थाइल्याण्ड, चीन, भारत, म्यान्मार, सिङ्गापुर, कम्बोडिया, अमेरिका, जर्मनी, फ्रान्स, श्रीलङ्का, नाइजेरिया आदि बौद्ध धर्मसँग सम्बन्धित देशबाट बाह्य पर्यटक भित्रिने गर्दछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...