कालिकोटका धनरुप बटाला एकीकृत जनक्रान्तिका प्रथम सहिद घोषित (विज्ञप्तिसहित)

  • कालिकोट । 
स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत कालिकोटको माल्कोटमा भएको झडपमा मृत्यु धनरुप बटालालाई नेपाल कम्युनिष्ट पार्टीले सहिद घोषणा गरेको छ । 

माल्कोटको नन्दादेवी माविको मतदान केन्द्रका मतपेटिका कब्जा गरी जलाइदिएका छन् । सोही क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

झडपमा कुलबहादुर बटाला र ब्यासी बिक गम्भीर घाइते भएका छन् । उनिहरुको उपचार भइरहेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका कालिकोट इन्चार्ज समरले एक सोमबार विज्ञप्ति जारी गरेर मृत‍क बटालाप्रति श्रद्धञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

इन्चार्ज समरले चुनाव बहिस्कार अभियान सानदार रुपमा सम्पन्न भएको भन्दै सरकारले सेना परिचालन गरेपनि जनसहभागिता न्यून रहेको बताए ।

सोमबार जारी गरेको विज्ञप्तिमा इन्चार्ज समरले धनरुप बटालालाई एकीकृत जनक्रान्तिको पहिलो सहिद घोषणा गरेका छन् । ‘चुनाव खारेजी अभियानमा माल्काेट, फुकाेट, भर्ता, मुम्रालगायत जिल्ला भरीका सम्पूर्ण जनसमुदाय तथा पार्टी नेता-कार्यकर्ताहरुले खेलेको भूमिकाकाे उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौं’ विज्ञप्तिम भनिएको छ ।




विज्ञप्तिको पूर्णपाठः

प्रेस विज्ञप्ति

संसदीय दलाल सरकारले घाेषणा गरेको बैशाख ३१ गतेकाे कथित स्थानीय निर्वाचन खारेजी गर्ने पार्टी केन्द्रकाे याेजना कालिकोटमा भव्य एवम् सानदार ढंगले सम्पन्न भएकाे छ । खासगरी बैशाख २२ गते फुकाेटबाट शुरु भएकाे जनताकाे प्रतिरोध माल्काेटमा मतपेटिका कब्जासहित नष्ट गरि उत्कर्षमा पुगेको छ ।

संसदीय व्यवस्थाका मतियारहरुले जतिसुकै ढंका पिटेपनि याे राज्यकाे अन्तिम शाही सेना परिचालन गरेपनि यसमा जनसहभागिता अत्यन्तै न्यून रहेकाे छ । यसले कथित संसदीय व्यवस्थाप्रतिकाे जनताको वितृष्णा मुखरित भएकाे छ । निकट भविष्यमा यसकाे अन्त्य निश्चित छ । हाम्रो पार्टीको याे निर्वाचन खारेजी अभियानमा कालिकोटको एेतिहासिक भूमि माल्काेटका क्रान्तिकारी जनसमुदायले फेरि एकपटक अाफ्नाे क्रान्तिकारी विराशत कायम गर्दै संसदीय दलाल सत्ताको डटेर प्रतिरोध गरेका छन् ।

यसक्रममा स्थानीयवासी धनरुप बटालाकाे दुखत निधन भएकाे छ भने दानबहादुर बटाला, कुलबहादुर बटाला र ब्यासी विक घाइते भएका छन् । एकीकृत जनक्रान्तिका पहिलाे सहिद धनरुप बटालाप्रति हाम्राे पार्टी उच्च सम्मान प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दैछौं ।घाइतेहरूको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं । साथै याे महान् अभियानलाई सफल पार्न बिशेष गरि माल्काेट, फुकाेट, भर्ता, मुम्रालगायत जिल्ला भरीका सम्पूर्ण जनसमुदाय तथा पार्टी नेता-कार्यकर्ताहरुले खेलेको भूमिकाकाे उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।


समर

ईन्चार्ज/सेक्रेटरी

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कालिकोट


यो पनि पढ्नुहोस्

,

प्रतिकृया दिनुहोस्

Loading...