काँग्रेस - माओवादीलाई ओलीले दिए यस्तो चेतावनी, भोलिभित्र महाअभियोग प्रस्ताव फिर्ता लिन माग

  • काठमाडौँ, १८ वैशाख । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेका छन् । 

एमालेद्वारा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले महाभियोग प्रस्ताव सर्वोच्च अदालतको संवैधानिक अङ्गको बदनाम गर्न ल्याइएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग माग गरे । 

“महाअभियोग लगाउनु चिन्ताजनक र गम्भीर कुरा हो । यो हामीलाई मान्य छैन” उनले भने,“त्यसैले भोलि(मङ्गलबार) नै सरकारले प्रस्ताव फिर्ता लिनुपर्छ ।” 

उनले ‘प्रधानन्यायाधीशले सरकारले भनेजस्तो नगरेर कानुनानुसार फैसला गर्न थालेपछि’ प्रस्ताव ल्याइएको हो भन्दै कुनै पनि हालतमा प्रस्ताव पारित नहुने चेतावनी दिए । उनले ‘स्थानीय निर्वाचन गर्नाको साटो प्रधानन्यायाधीश कार्कीलाई हटाएर कार्यपालिकाको आदेशको तामेली गर्ने न्यायालय सरकारले ल्याउन खोजेको’ आरोप पनि लगाए । 

“हामी सरकारमा हुँदा सर्वोच्चले हाम्रो पक्षमा फैसला गरेको थिएन । तर पनि हामीले महाअभियोग लगाएनौँ”, पूर्वप्रधानमन्त्री ओलीले भने, “अहिलेको सरकारले आफूअनुकूल फैसला नगरेको भन्दै प्रधानन्यायाधीश माथि महाअभियोग लगाउन खोजेको छ ।” 


,

प्रतिकृया दिनुहोस्

Loading...