एमालेविरुद्ध काँग्रेस–माओवादीको काठमाडौंसहित चार महानगरमा तालमेल (कसले कसलाई छाडे)

काठमाडौं - प्रमुख सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबीच मुलुकको सबैभन्दा ठूला तीन उपमहानगर पालिकामा तालमेल भएको छ । एमालेविरुद्ध स्थानीय तह निर्वाचनमा तालमेल गरेका यी दलहरुले यसपाली एमालेलाई आफ्नो हैसियत देखाउने बताएका छन् ।

बिषेस स्रोतका अनुसार काठमाण्डौं महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र पोखराको लेखनाथ महानगरपालिका र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने भएका हुन् । यद्यपि ती दलले मंगलबार छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्षसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु मेयर उम्मेदवार छिन् ।

छोरीलाई जसरी पनि निर्वाचन जिताउन र आगामी संसदीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउन प्रचण्डले काठमाण्डौंमा काँग्रेसलाई सघाउने र भतरपुर आफूले लिने सहमति गरेका छन् । प्रचण्ड संसदीय निर्वाचनमा गृहजिल्ला चितवनबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

भरतपुरमा उपमेयरमा काँग्रेसलाई दिने सहमति भएको छ । काँग्रेसका तर्फबाट भरतपुरको मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाहले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट उपमेयरमा सुरेन्द्र गुरुङको उम्मेदवारी परेको छ ।

काँग्रेसले रेणु दाहाललाई उम्मेदवार बनाउने रणनीतिअन्तर्गत नै तुलनात्मक रुपमा कमजोर मानिएका कोइरालालाई उम्मेदवार बनाएको हो । कोइराला नेता कृष्ण सिटौला निकट मानिन्छन् । विवादका बीच कोइरालाले मंगलबार मात्र टिकट लिएर गएका थिए ।

यस्तै काठमाण्डौं महानगरपालिकामा काँग्रेसले मन्त्री नवीन्द्रराज जोशीका दाजु राजुराज जोशीलाई मेयर पदमा उम्मेदवार बनाएको छ । उपमेयरमा हरिप्रभा खड्गी छिन् । यस्तै माओवादी केन्द्रबाट मेयरमा सर्वोत्तम डंगोल र उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ ।

डंगोल गत संविधानसभा निर्वाचनमा माओवादीबाटै काठमाण्डौं–७ मा उम्मेदवार थिए । तर, उनको जमानत जफत भएको थियो । काँग्रेसलाई सघाउने रणनीतिअन्तर्गत नै डंगोललाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।

ललितपुर महानगरमा माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर लिने भित्री सहमति छ । त्यहाँ माओवादी केन्द्रले मेयरमा दिनेश महर्जन र उपमेयरमा सोना शाक्यलाई उम्मेदवार बनाएको छ । काँग्रेसबाट चिरिबाबु महर्जन मेयर र गीता सत्याल उपमेयरका उम्मेदवार छन् । उता पोखराको लेखनाथ महानगरपालिकामा माओवादीले काँग्रेसका मेयर उम्मेदवारलाई सघाएर आफूले उपमेयर लिने भएको छ । काँग्रेसका तर्फबाट रामजी कुँवर मेयरका उम्मेदवार छन् ।

उपमेयरमा सरस्वती गुरुङले उम्मेदवारी दर्ता गराएकी छन् । माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछानेले मेयरमा र गोमा ढकालले उपमेयरमा उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच चुनावी तालमेल भएका स्थानमा उम्मेदवारी फिर्ता लिने सहमति भइसकेको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि (बिहीबार) सम्मको समय दिएको छ ।

२०७४ बैसाख २१ प्रकासित  । 

,

प्रतिकृया दिनुहोस्

Loading...