महोत्तरीमा ठेउला र दादुराको प्रकोप देखियो



  • गौशाला, २१ वैशाख । 
महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा चर्को घामसँगै असहनीय गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ । 

जिल्लामा बदलिँदो मौसमले ल्याएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दूषित भई विभिन्न नगरपालिका तथा गाउँपालिकामा ठेउला र दादुराका रोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

ठेउला र दादुरा रोग विशेषगरी स–साना बालबालिकामा देखापरेका छन् भने युवायुवती, वयस्क तथा बूढापाका समेतमा यस रोगका लक्षण देखापरेको जिल्ला अस्पताल जलेश्वरका वरिष्ठ मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले बताए । 

सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकास्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले ठेउला र दादुराका रोगी आउने क्रम बढेको डा साहले बताए । जिल्लाका तीन नगरपालिका – जलेश्वर, गौशाला, बर्दिबाससहित गाउँपालिका लोहारपट्टी, भङ्गहा, सम्सी, सोनमा, मटिहानी, महोत्तरी, एकडारा, औरही, बलवा, रामगोपालपुर, मनरालगायत जिल्लाका १२ वटै गाउँपालिका विभिन्न गाउँठाउँमा ठेउला र दादुरा रोगको प्रकोप देखिएको चिकित्सक बताउँछन् । 

महोत्तरीका धेरैजसो गाउँठाउँमा ठेउला र दादुरालाई देवीको रुप भनेर यसको इलाज उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तेलमा भुटेका खानेकुरा नखाने चलन रहेको छ । 

ठेउला र दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतै कतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजाआजासमेत गर्ने गरेको देखिन्छ । सरसफाइको अभावमा विशेषगरी गरिब परिवारमा हुने ठेउला र दादुरा रोगले महोत्तरीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि गरिब दलित बस्तीका हरेक घरपरिवारलाई बिस्तारै छुँदै गइरहेको चिकित्सकको भनाइ छ । 

जिल्लाको ग्रामीण बस्तीमा प्रायः जसो ठेउला र दादुरा रोगका रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने विश्वास गरिन्छ । तर सरुवा रोग हुनाले एकपछि अर्को व्यक्तिमा सर्दै गइरहेको देखिएको जिल्ला अस्पताल जलेश्वरका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए। 

,

प्रतिकृया दिनुहोस्

Loading...