देउवा सरकारमा माओवादी केन्द्रबाट नेतृत्व कसले गर्ने, जनार्दन शर्मा या कृष्णबहादुर महरा ?

  • काठमाडौैं । 

प्रधानमन्त्री प्रचण्डले राजिनामा गरेपछि अब नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने भएको छ ।

काँग्रेस-माओवादी केन्द्रको पूर्वसहमितअनुसार नै प्रधानमन्त्रीले राजिनामा दिएका कारण अबको प्रधानमन्त्री नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवा हुने भएका छन् ।

नेपालको संविधानको ‘संक्रमणकालीन व्यवस्था’ अनुसार सहमतिका अाधारमा मन्त्रिपरिषद् गठनको लागि सभामुखले एक हप्ताको समय दिनेछन् । त्यो अवधिमा सहमति नजुटे बहुमतिय प्रक्रिया सुरु हुनेछ ।

संविधानको धारा २९८ (मन्त्रिपरिषदको गठनसम्बन्धी व्यवस्था)को उपधारा २ मा ‘व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने’ उल्लेख छ ।

उपधारा ३ मा बहुमतीय प्रक्रियाबारे उल्लेख छ । ‘उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने’ उल्लेख छ । तर, यसमा समयकाबारेमा भने कुनै उल्लेख छैन ।

सहमतिको अाधारमा देउवा प्रधानमन्त्री हुनलाई संसदमा रहेका सबै दलहरुले सहमति जनाउनु पर्छ । तर, अवस्था त्यस्तो देखिदैन । पछिल्लो पटक एमाले अध्‍यक्ष केपी ओली देउवाप्रति निकै अाक्रामक हुँदै गएका कारण पनि त्यो सम्भावना टरेको हो ।

एमालेले कस्तो रणनीति अपनाउँला र कसलाई देउवासँग भिडाउला भन्ने कुरा जति नै देउवा सरकारमा माओवादी केन्द‍्रको तर्फबाट सरकारको नेतृत्व कसले गर्ला भन्ने पनि चाँसोको विषय बनेको छ ।

स्रोतका अनुसार ऊर्जामन्त्री प्रभाकरको नेतृत्वमा देउवा सरकारमा पठाउन तयारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । अाफ्नो सरकारका सफल मन्त्री भएका कारण काम चलाउ सरकारका प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको रोजाईमा प्रभाकर परेका हुन् । ‘लोडसेडिङ अन्त्य गरेर ठूलो काम गरेको कारण र देउवा नेतृत्वको सरकारमा गएर राम्रो काम गर्न सक्ने भएका कारण प्रभाकरलाई नेतृत्व दिने तयारी भइरहेको छ’ स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रभाकरलाई सरकारको नेतृत्व नदिन माओवादी केन्द्रकै नेताहरु लागि परेका छन् । देउवा-प्रचण्डको सहमतिअनुसार दोस्रो वरियताको गृहमन्त्रीसहितको उपप्रधानमन्त्री माओवादी केन्द्रको हुने भएका कारण प्रभाकरलाई रोक्न केही नेताहरुले प्रचण्डसँगै छलफल सुरु गरेका छन् । तर, अहिलेसम्म प्रचण्ड प्रभाकरलाई नै सरकारको नेतृत्व दिने मुडमा भएको बताइएको छ ।

माओ‌वादी केन्द्रका एक नेताका अनुसार अर्थमन्त्री कृष्णबहादुर महरालाई गृहसहित उपप्रधान दिएर सरकारमा पार्टीको नेतृत्व गर्नु पर्ने भन्दै लविङ सुरु गरेका छन् ।

उता मन्‍त्री प्रभाकर भने अाफूलाई काम गर्ने अवसर दिए जहाँ पनि गर्ने तर पदको लागि मरिहत्ते नगर्ने बताउँछन् । ‘पार्टीले काम गर्ने अवसर दिए जुनसुकै ठाउँमा जान तयार छु तर मन्त्री पदको लागि हरिहत्त गर्दिन’ प्रभाकरले भने । उनले ऊर्जा क्षेत्रमा भएको सफलतालाई संस्‍थागत गर्न केही समय बाँकी रहेको समेत बताए ।

ऊर्जा क्षेत्रमा जस्तै बेथिति यातायात क्षेत्रमा पनि भएका कारण प्रभाकरलाई यातायात मन्त्रालय दिनु पर्ने पक्षमा छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...