दोलखा घटनापछि प्रहरीभित्र मच्चियो खैलाबैला, छुट्टाछुट्टै ३ टोली घटनास्थल पठाइयो



काठमाडौं ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको दाबी गरिरहेको बेला दुई पक्षीय झडपमा दोलखामा एमाले कार्यकर्ताको मृत्यु नै भएपछि सुरक्षा क्षेत्रमा हंगामा मच्चिएको छ । 

गएराती दोलखाका गौरीशंकर गाउँपालिका–१ जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीचको झडपमा एमाले कार्यकर्ताको ज्यान गएको थियो । झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।

उनको मृत्यु भएसँगै राजनीतिमा तरंग पैदा भएसँगै प्रहरी हेडक्वार्टरले घटनालाई गम्भीर रुपमा लिँदै तीन छुट्टाछुट्टै टोली घटनास्थलतर्फ पठाएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको विशेष चासो र सक्रियतामा प्रहरी हेडक्वार्टका डिएसपी, केन्द्रीय अनुसन्धान ब्यूराेका एसएसपी शेरबहादुर बस्नेत र जनकपुर अञ्चल प्रहरी कार्यालयका एसएसपी सुवास चौधरीको कमाण्डमा छुट्टाछुट्टै टोली घटनास्थलतर्फ पठाएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

तीन छुट्टछुट्टै टोलीले घटनास्थलमा पुगेर सत्यतथ्य छानबिन सुरु गर्ने बताइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयले पनि घटनाबारे छानबिन गरिरहेको छ ।

प्रहरी प्रवक्ता खनालले दोलखा घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको भन्दै त्यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गरिने बताए । यस्तै निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउन पनि प्रहरी प्रतिबद्ध रहेको बताए ।
२०७४ बैसाख २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...