सरकार परिवर्तन हुन दुई साता मात्रै बाकीं रहँदा विजय गच्छदारले गरे सत्तारोहण

  • काठमाडौं ।
पहिलो चरणको स्थानीय निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी रहेको अवस्थामा प्रचण्डले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना मन्त्रीलाई सरकारमा सहभागी गराएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन । 

राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उनलाई शपथ गराइएको हो । 

यसैगरी नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि आजै पद तथा गोपनीयताको शपथ लिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति कार्यान्वयन गर्ने हो भने प्रधानमन्त्री प्रचण्डले जेठको पहिलो साता सत्ता छाड्नुपर्छ । तर, त्यसको दुई साता अघि ‘सदाबहार मन्त्री’ विजय गच्छदारले भने सत्तारोहण गरेका छन् ।

कैलालीको टिकापुर घटनामा परी बन्दी बनाइएका आफ्ना कार्यकर्तालाई एक हप्ताभित्र रिहा गर्ने लगायतका सर्त पुरा गर्ने प्रतिवद्धता सरकारबाट आएपछि सरकारमा सहभागी हुने निर्णय लिइएको पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिए।

२०७४ बैसाख २५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...