हेर्दाहेर्दै यसरी धोस्त भयो १२० अपार्टमेन्ट रहेको २४ तले भवन (हेर्नुहोस् भिडियोसहित)

  • काठमाडौं ।
पश्चिम लन्डनको एक २४ तले भवनमा भएको आगलागीमा केही मानिसको मृत्यु भएको तर संख्या भने अझै निश्चित हुन नसकेको लन्डनका अधिकारीहरूले बताएका छन्।

१२० अपार्टमेन्ट भएको उक्त भवनमा राति १ बजे आगलागी शुरु भएको थियो। उद्धार गरिएका र भवनबाट भागेका ५० जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ।

आगो तल्लो तलाबाट सुरु भएकाले माथिल्लो तलामा भएका मानिसलाई भाग्न कठिन भएको थियो। भवनमा थुनिएका मानिसहरुले चिच्याएर र मोबाइल वा टर्च बालेर सहयोग मागेको प्रत्यक्षदर्शीले बताएका छन्।

केही मानिसले माथिल्लो तलाबाट हाम फालेका छन्। ४० वटा दमकल र २०० जना अग्निनियन्त्रक आगो नियन्त्रणमा लिन प्रयासरत छन्। धेरैले प्लास्टिकको गन्ध आएपछि केही गडबडी भएको अन्दाज गरेका थिए।

सातौं तलाबाट भागेका पाउल मुनाकरका अनुसार त्यत्रो ठूलो आगो लाग्दा पनि उनले आगो लागेको जनाउ दिने घन्टी बजेको सुनेनन्। तल सडकमा ‘हाम नफाल’ भनेर कराएको आवाजले मात्र उनले आफ्नो भवनमा भीषण आगलागी भएको थाहा पाएको बिबिसीलाई बताए। 

ठूला भवनमा आगो लागेको बेला ‘अलार्म बेल’ बज्ने गर्छ तर भवन निवासीले त्यस्तो आवाज नसुन्नु अनौठो भएको बताएका छन्। सुरक्षाका दृष्टिकोणले सो भवन बस्न उपयुक्त नभएको धेरैले आशंका गरेका छन्। 

ग्रेनफेल नामको उक्त भवन सन् १९७४ मा बनेको थियो। एक करोड पाउण्ड खर्च गरेर गत वर्ष मात्र उक्त भवनको मर्मत भएको थियो।

मर्मतको समयमा त्यहाँका वासिन्दाले आगोबाट खतरा रहेको र आगो लागेको खण्डमा आपतकालीन सेवाको अभाव रहेको कुरा उठाएको कुरा सञ्चारमाध्यमले जनाएका छन्।

हेर्नुहोस् भिडियो 

प्रतिकृया दिनुहोस्

Loading...