१ बर्षको अवधिमा नारायणगढ–मुग्लिन सडकमा ४६ को मृत्यु, त्रिशूलीमा खसेर १९ बेपत्ता

  • काठमाडौं ।

नारायणगढ–मुग्लिन सडक खण्डमा यो वर्षभरि भएको सवारी दुर्घटनामा अहिलेसम्म ४६ जनाको मृत्यु भएको छ । ९३ जना घाइते भए भने त्रिशूली नदीमा खसेर १९ जना अझै बेपत्ता भएका छन् । 

पहिरोको जोखिम, साँघुरो सडक र ओभरटेकले गर्दा नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी दुर्घटना बढ्दो छ । ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा यो खण्डमा ३४ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा त्रिशूलीमा खसेर १९ जना बेपत्ता भएका छन् । ९३ जना घाइते भए । यो खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० गरी ५६ किलोमिटरको सडक त्रिशूली नदीको किनार पर्छ । 

उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूलीमा खस्ने र चालक र यात्रुको मृत्यु, बेपत्ता हुने गरेको छ । गत भदौ १० गते रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस चण्डीभन्ज्याङ गाविस ६ कालीखोलाबाट २ सय मिटर तल त्रिशूलीमा खस्दा दसजना बेपत्ता भए । उनीहरु अहिलेसम्म फेला परेको छैनन् । यस्तै असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरेसमेत सवार जिप त्रिशूलीमा खस्दा घिमिरेसहित दुईजना अझै बेपत्ता छन् । 

उक्त घटनामा चारजनाको मृत्यु र एकजना घाइते भए । बेपत्ता प्रहरीको खोजीमा सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार, नेपाल प्रहरी, सेनाको टोली खटिएको छ । गाडी त्रिशूली नदीमा परेकाले खोजी कार्यमा जुटे पनि बेपत्ता फेला पर्दैन् ।

नारायणगढ-मुग्लिन सडक खण्डको कालीखोलामा बिहीबार राति खसेको पहिरो पन्छाएर फर्किने क्रममा प्रहरी सवार गाडी कालीखोला नजिकै त्रिशूलीमा खस्दा बेपत्ता दुई प्रहरी जवान अझै फेला परेको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनतर्फ जाँदै गरेको बा १ झ १३९० नम्बरको गाडी पहिरोसँगै २ सय मिटर तल त्रिशूली नदीमा खस्दा प्रहरी सहायक निरीक्षकसहित २ प्रहरीको मृत्यु भएको थियो । 

घटनास्थल मुग्लिनबाट ३ किमि दुरीमा पर्छ । त्रिशूलीमा खसेको प्रहरीको जिप अहिलेसम्म देखिएको छैन । त्रिशूलीमा बेपत्ता भएका प्रहरी जवानहरु तनहुँका सन्दीप कार्की र गोरखा मकैसिंहका लीलबहादुर चेपाङ अझै फेला परेको छैन । उनीहरुको निरन्तर खोजी गरे पनि फेला नपरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...