टीकापुर घटनाका मुख्य योजनाकारलाई सरकारले किन दियो १ करोड ७४ लाख ?

  • काठमाडौं ।
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिएको छ । टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप उपलब्ध गराएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो । रेशम चौधरीका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्तिबापतको १ करोड ७४ लाख रुपैयाँको चेक बुझेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीलाई १ करोड ५० लाख, प्रदीप चौधरीलाई १ करोड ३९ लाख दिइएको छ । टीकापुर घटनाका ८८ जना पीडितले ८ हजारदेखि १ करोड ७४ लाखसम्मको क्षतिपूर्ति पाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । यसअघि प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा मन्त्रिपरिषद्ले टीकापुरका आगजनीपीडितलाई झन्डै ११ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

चौधरी माओवादी केन्द्रनिकट भएकोले प्रचण्डले नै यति ठुलो रकम उपलब्ध गराएको सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...