धनगढी उपमहानगरमा माओवादीले लियो काँग्रेस-एमालेलाई पत्तासाफ गर्ने यस्तो रणनीति

  • काठमाडौं । 

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा माओवादीले चलाखीपूर्ण तरिकाले उम्मेदवार छानेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठा गाँसिएको धनगढीमा कांग्रेस विभाजित मानसिकतामा चुनावी प्रतिस्पर्धा गरिरहेका बेला माओवादी केन्द्रले थारु सामुदायबाट मेयर उम्मेदवारलाई अगाडी सारेको छ  । पहिलोपटक ०७० सालको चैत्रमा शुरु भएको अखण्ड/थरुहट आन्दोलनले थारु पहाडीबीचमा केही फाटो -दुरी) ल्याउने काम भयो, जसको प्रत्यक्ष असर स्थानीय तहको निर्वाचनमा देखिने प्रष्ट छ ।

ठूला दल कांग्रेस र एमालेले प्रमुख पदमा थारु उम्मेदवार दिन नसक्नुले थारु मत अन्यत्र बाँडिन सक्ने आँकलन छ । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रामसमझ राना बलियो उम्मेदवारका रुपमा अगाडि बढिरहेका छन् । सरल स्वभावका राना मतदाता माझ लोकपि्रय छन् । अखण्ड/थरुहटको नारा लागेमा रानाले जित्ने सम्भावना छ । किनभने धनगढी उपमहानगरपालिकामा ४४ प्रतिशत थारु समुदायको बसोबास छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार नृप वड धनगढी नगर सभापति रहिसकेका व्यक्ति हुन् । भने नेकपा एमाले मेयरका उम्मेदवार दुर्गा जोशी पेशाले शिक्षक हुन् ।  अखण्ड आन्दोलनमा सुदूरपश्चिम कुनै पनि हालतमा अखण्ड हुनु पर्छ भनेर गरिएका चर्का भाषणबाजी अहिले तिनै दललाई भारी भएको छ । उता टीकापुर काण्डले समेत अखण्ड पक्षधरहरुलाई प्रभाव पार्ने देखिन्छ ।

ठूला पार्टीका केन्द्रीय राजनीतिको असर यहाँसमेत देखिएको छ । गुट उपगुटको नाराले पार्टीभित्र एक प्रकारको द्वन्द्व नै निम्त्याएको छ । राम्रालाई भन्दा हाम्रालाई टिकट दिएपछि नेपाली कांग्रेस कैलाली विभाजित अवस्थामा छ ।क्षेत्र नम्बर ६ का क्षेत्रीय सचिव बुद्धी खड्काले वडा अध्यक्षको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन् । उनले क्षेत्रीय कमिटीले आफूलाई वडाअध्यक्षमा सिफारिस गरे पनि टिकट नपाएपछि मतदाताको आग्रहमा बागी उम्मेदवारी दिएको बताए ।

त्यस्तै नेपाली कांग्रेसकै वडा नम्बर १ बाट रामचन्त्द्र पौडेल पक्षधर कृष्णबहादुर कुँवरले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा नम्बर १० वाट शिवु राना, ११ बाट तीर्थ पन्त र १६ वाट निर्मल ओझाले बागी उम्मेदवारी दर्ता गराएका छन् । लामो विवादका वीच नेपाली कांग्रेसले ढिलो गरी उम्मेदवार टुंग्याएका कारण आकांक्षीहरु रुष्ट भएका छन् । 

,

प्रतिकृया दिनुहोस्

Loading...