अपहरणकारी बनेर नेपाल घुसेका भारतीय प्रहरीलाई बिना कारबाही किन छोडियो ? यसो भन्छन् प्रहरी र कानुनविद्

  • दिया चन्द, डोटी । 
डोटीका एक नेपाली नागरिकलाई मध्यराति अपहरण गर्न डोटी पुगेका भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ ।

बिनाअनुमति नेपाल घुसेका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर भारततर्फ लैजाने प्रयास गरेका थिए ।

स्थानीयले खबर गरेपछि म्यादीसहित व्यापक रुपमा खटिएको डोटी प्रहरीले भारतीय टोलीलाई राति नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिब सिंहले इमान्दार मिडियालाई बताए । 'पक्राउ गरेपछि खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी रहेको पुष्टि भयो, त्यसपछि हामीले सम्मानपूर्वक नै व्यवहार गर्यौं ।' डिएसपी सिंहको इमान्दार मिडियासँग भने । ‘उनीहरुले कुनै सूचनाबिना नै नेपाल प्रवेश गरे, त्यो गलत हो ।' उनले थपे।

'उनिहरूसँग बुझ्दखेरी तत्काल अनुसन्धान गर्नुपर्ने एउटा केश भएकोले अाफुहरू नेपाल अाउनु परेकाे र यस बिषयमा माथिल्लाे तहमा कुरा भइरहेकाे बताए । गल्ति गरेकोमा माफी मागिसकेका छन्, त्यसैले हामीले भारतीय प्रहरीलाई जिम्मा लगाएका छौं '। डिएसपी सिंहले इमान्दार मिडियासँग भने । 

यता सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले भने दुई देशको सम्वन्धको पनि कुरा आउनसक्ने भन्दै भारतीय प्रहरी भएको पुष्टि भइसकेपछि जताबाट आएका थिए उतै पठाइदिएको बताएका छन् । 'कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु कुनै सूचनाबिना नै आएको पाइयो। प्रहरी नायव महानिरीक्षक देउजाले भने, - 'त्योभन्दा अरु कुनै कारवाही गर्ने कानुनी प्रानधान छैन, हामीले पठाइ दियौं ।'

भारतीय प्रहरीसँगै नियन्त्रणमा लिइएको गाडी र चालक राजेश बागचनलाई समेत भारतीय प्रहरी टोलीसँगै कञ्चनपुर पुर्‍याइएको छ । उनीहरुलाई पनि सम्वन्धित व्यक्तिको जिम्मा लगाइने प्रहरी नायव महानिरीक्षक देउजाले बताए । डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि भारतीय प्रहरीलाई कारबाही नगरिएको पुष्टि गरेका छन् ।

हदैसम्मको राज्य आतंकवाद हो : कानुनविद् चिन्तन 

यता अन्तर्राष्ट्रिय कानुनविद् तथा पृथ्वीनारायण क्याम्पस, पोखराका सहप्राध्यापक गोपाल चिन्तनले भने अर्काको 
देशमा प्रहरी घुसेर उसको नागरिक अपहरण गर्नु भनेको हदैसम्मको गम्भीर अपराध भएको बताएका छन् ।

‘अर्काको देशमा प्रहरी घुसेर मान्छे अपहरण गर्दा त्यो सिधा अन्तर्राष्ट्रिय कानुन र नेपालको कानुन बिपरित हुन्छ। अनि प्रष्ट कानुनी प्रक्रिया छ, छैन भन्ने कुरा नै आएन नी ?' कानुनविद् चिन्तनले इमान्दार मिडियासँग भने ।

उनले यो घटना राज्य आतंकवाद, कूटनीतिक मर्यादा बिरुद्ध र नेपाल राष्ट्रिय सुरक्षाको बिषय भएको समेत बताए । ' यहाँ कुरा कूटनीतिक मर्यादा, नेपालको राष्ट्रिय सुरक्षा नीति, व्यक्तिको जिउज्यान तथा अपहरणजस्तो गम्भीर अपराधको कुरा आएको छ ।' उनले भने - 'जसरी अमेरिकाले इराक र अफगानिस्तानमाथि आक्रमण गर्छ र त्यो उनीहरुको राज्य आतंकवाद हुन्छ, हो त्यसैगरी याे पनि भारतको नेपालमाथिको राज्य आतंकवाद हो ।'

भारतीय प्रहरीले सुराकीको रुपमा प्रयोग गरेका डोटी दिपायल सिलगढी नगरपालिका-८ का प्रसाद पार्की अपहरित आउजीलाई आफन्तको जिम्मा लगाइको डिएसपी सिंहले बताए ।

तस्वीर झलक पालीको फेसबुकबाट
२०७४ जेठ १९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...