जनप्रतिनिधिले काठमाडौं पुगेर गरे हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिवद्धता

  • काठमाडौँ । 
हुम्लाबाट निर्वाचित प्रतिनिधिले सडक, शिक्षा, स्वास्थ्यका साथै स्थानीय स्रोत साधनलाई प्राथमिकतामा राखेर हुम्लालाई आत्मनिर्भर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । 

संवाद डबलीले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिमिकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले स्थानीय साधन स्रोतको भरपुर उपयोग र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भोकमरी र हिउँको विषयलाई भन्दा अन्य विषयलाई अगाडि ल्याउनु पर्ने धारणा राखे । 

सर्केगाडा गाउँपालिका उपाध्यक्ष जोशी धामीले आवास, खानेपानी, सडक, विजुलीलाई प्राथमिकतामा राखेको बताए । उनले सिंहदरवारको अधिकार गाउँमा पुगेको बताउँदै जनतालाई सेवा दिन व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने प्रतिवद्धता जाहेर गरे । 

अन्तरक्रिया कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले आफ्नो गाउँपालिकाका जनतालाई चामल निर्भर भन्दापनि आत्मनिर्भर बन्ने कार्यक्रम अगाडि बढाउने बताए । काठमाडौंबाट सिमिकोट टाढा भएजस्तै सिमिकोटबाट आफ्नो गाउँपालिका दुर्गम भएका बताउँदै लामाले स्वाथ्य, शिक्षका साथै कृषिलाई आधुनिकरण गरेर जनतालाई आत्मनिर्भर बनाउने बताए । 

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले हुम्ला राष्ट्रिय सडक सञ्जालका साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर हुम्लीलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे । 

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले सडक सञ्जालमा हुम्लालाई जोड्नु पर्ने कुरामा जोड दिँदै आत्मनिर्भरताको लागि स्थानीय जल, जमिन र जंगल, जडिबुटीलाई उपयोग गरेर जनतलाई आत्मनिर्भर बनाउने योजना बनाएको बताए । उनले आगामी चार वर्षसम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम अगाडि बढाउन पहल गर्ने बताए । अध्यक्ष फडेराले आफूलाई बाटो बिराए सर्तक गराउन सञ्चारकर्मीसँग आग्रह गरे । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले स्थानीय उत्पादनलाई बजारीकरण गर्नलाई सडक हुम्ला सडक सञ्जालमा जोडिनुपर्ने बताए । स्थानीय उत्पादनलाई आधुनिकीकरण गरेर भोकमरीको अन्त्य गर्न सकिने बताए । त्यसैगरी चंखेली गाउँपालिकाकी उपाध्यक्ष विमला कुमारी शाहीले नयाँ संरचनापछि बनेको स्थानीय तहमा नयाँ संस्कार र संस्कृतिका विकास पहिलो प्राथमिकता रहेको बताइन् । 

उनले विगतको जनप्रतिनिधिहरुको संस्कार र संस्कृतिलाई नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै महिलामाथि हुने घरेलु हिंसा, छुवाछुतको अन्त्य गर्ने बताइन् । त्यस्तै सिमकोट गाउँपालिकाकी उपाध्यक्ष बलि रावत र ताँजाकोट गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाले पनि मतदाताको चाहनाअनुसार काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य कर्णजीत बुढा ‘सुशिल’ले जनताको भावनाअनुसार काम गर्न जनप्रतिनिधिहरुले सुझाव दिए । 

पूर्व सभासद् समेत रहेका बुढाले चुनावको समयमा जनताको अगाडि गरेको प्रतिवद्धतालाई ध्यानमा राखेर काम गर्न धारणा राखे । अन्तरक्रिया कार्यक्रममा राजनीतिशास्त्री प्रा.डा. गोपाल सिवाकोटीले भ्रष्टाचारबाट अलग रहेर जनताको हुम्ली जनतालाई आत्मनिर्भर हुने कार्यक्रम अगाडि बढाउन सुझाव दिए । कुटनीतिक अध्ययन केन्द्र, नेपालका महासचिव डा. दीपेन्द्र रोकायाले भौगोलिक चुनौति भएपनि हुम्ला सम्भावना र अवसरले भरिपूर्ण भएको धारणा राखे । 

सम्भवना र अवसरको जनताको हितमा उपयोग गर्न सुझाव दिए । संवाद डबलीका संस्थापक अध्यक्ष समेत रहेका रोकायाले स्थानीय तहको विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई सुझाव दिए । त्यस्तै सिप नेपालका अध्यक्ष अंगबहादुर लामाले जनतासँग गरेका वाचाअनुसार काम गर्न सुझाव दिँदै साथमा मिडियालाई लिएर काम गर्नुपर्ने धारणा राखे । संवाद डबलीका सचिव धनन्जय बुढाले जनताको भावना तथा चुनावको बेला गरेको वाचाअनुसार काम गर्न सुझाव दिए । 

बुढाले स्थानीय तहमा पुरानै संस्कार र संस्कृतिको पुनरावृति भए मिडियाकर्मीको हैसियतले भण्डाफोर गर्ने बताए । सहभागी नेत्र महतारा, नरेन्द्र ऐडीलगायतले जनताको हुम्ला र हुम्लीलाई आत्मनिर्भर बनाउने योजनाका साथ अगाडि बढ्न सुझाव दिएका थिए ।

२०७४ असार १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...