सभामुख ओनसरी घर्तीले केपी ओलीलाई सातो जानेगरी झपारेपछि...

  • काठमाडौं ।

सभामुख ओनसरी घर्तीमगर एमाले अध्यक्ष केपी ओलीसँग आइतबार नयाँबानेश्वरसिंह संसद भवनमा नराम्ररी झोक्किइन् ।

आफैंले बानेश्वरमा बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा उनी आफ्नो विषयमा सार्वजनिक सञ्चार माध्यमबाट भ्रमपूर्ण प्रचारबाजी गरेको भन्दै ओलीसँग रिसाएकी हुन् । उनले दलहरुबीच सहमति भए पनि नभए पनि प्रधानमन्त्री निर्वाचन प्रक्रिया नरोक्ने अडान लिइन् । यसअघि एमालेकै सुझाव र सहमतिमा काम गर्दा सभामुखले संसदलाई छल्न खोजेको आरोप लगाएर आफ्नो निस्पक्षतामाथि समाजमा प्रश्न खडा गर्न खोजेको भन्दै आपत्ति जनाइन् । प्रधानमन्त्री पुष्पकमm दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको समय दिएर दलहरुलाई सहमतीय सरकार गठनका लागि ११ जेठमा आह्वान गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले सोही व्यवहोराको पत्र संसदमा समेत पठाएको थियो । राष्ट्रपति कार्यालयबाट प्राप्त सबै प्रकारका पत्र संसद बैठकमा पढेर सुनाउने अभ्यास छ । तर, संसदमा अवरोध कायम राखेको एमालेकै सुझावमा आफूले सूचना टाँसेर राष्ट्रपतिबाट सरकार गठनका लागि भएको आह्वानबारे जानकारी दिँदा एमाले नेताहरुले संसदमा अवरोध नै नभए पनि सभामुखले सूचना टाँसेको भनेर हल्ला चलाएको भन्दै सभामुखले आपत्ति जनाइन् । पहिलोपटककै नजिरलाई आधार बनाएर दोश्रोपटक राष्ट्रपतिबाट बहुमतीय सरकार गठनका लागि आह्वान भएअनुसार सूचना टाँस गर्दा एमालेले अनावयश्क प्रचार गरेको टिप्पणी उनको थियो ।

 ‘तपाईंहरुको सल्लाहमा मैले राष्ट्रपति कार्यालयको पत्र पढेर नसुलाई सहमतीय सरकार गठनको सूचना टाँसेको हो कि होइन ? यतिबेला बाहिर गएर संसदमा हामीले अवरोध नै गरेका छैनौं भनेर मलाई पंगु बनाउन खोज्नुभो । त्यही नजिरका आधारमा दोश्रोपटक सूचना टाँस गर्दा संसदलाई छलेको र प्रधानमन्त्री निर्वाचन कार्यक्रमबारे थाहा नपाएकाले उम्मेदवारी दिनै पाइएन भन्दै हिंड्नुभएको छ । त्यस्तै गरेर मलाई यो पटक पनि बदनाम गर्न खोज्ने हो भने समय दिन्न । म प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढाउँछु’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । आफूले दलहरुलाई सहमति खोज्न सजिलो होस भन्नका लागि दलहरुकै सल्लाहमा काम गर्दासमेत बाहिर गलत हल्ला गर्ने भए आफू सहमतिका लागि समय नदिने र सिधै प्रक्रिया सुरु गर्ने उनको भनाइ थियो ।

‘मैले हरेकपटक कानून, संविधान, विधि, प्रक्रिया, नियमावली र परम्परालाई आधार मानेर काम गरेको छु’, उनले भनिन्, ‘आफैं यसो गर्नुस् भनेर सल्लाह दिनुहुन्छ । मुलुकले निकास पाओस् भनेर तपाईंकै सल्लाहमा काम गर्दा बाहिर गएर जे पायो च्यही बोल्नु हुन्छ । तपाईंहरु फेरि मलाई दोष दिने हो भने म आजको बैठक चलाउँछु । सहमतिमा संसद चल्न दिनुस वा नदिनुस त्यो मेरो कुरा होइन ।’ ‘सभामुखले सूचनाद्वारा पनि जानकारी गराउन सक्छ, यो पनि संसदकै प्रक्रिया हो भनेर सुझाव दिने तपाईंहरु नै होइन ? अनि आफ्नै सुझाव कार्यान्वयन गरिरहेको सभामुखबाट संसदलाई छल्ने काम भयो भनेर बाहिर भ्रमको खेती गर्ने ? म अब यस्तो नभएको आरोप खेप्न सक्दिन । प्रक्रिया अगाडि बढाउँछु’, उनले भनिन् ।

ओलीले सभामुखको आपत्तिबारे जवाफ दिएनन् । तर उनले चितवन प्रकरणबारे सर्वोच्चमा दायर रिटमाथि सोमबार सुनुवाई हुने र दलहरुलाई सहमतिका लागि समय चाहिने भन्दै मंगलबारसम्मको समय मागे । काठमाडौं टुडेमा खबर छ ।

२०७४ जेठ २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...