सत्तारुढ दलसँग रिसाएको राजपाले गर्यो चुनाव भाँड्ने घोषणा (तालिकासहित)

  • काठमाडौँ । 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संघीय गठबन्धनले चुनाव भाँड्ने योजनाका साथ आगामी असार १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । 

संघीय गठबन्धनको ब्यानरमा आइतबार पत्रकार सम्मेलन गरी राजपा अध्यक्षमण्डलका सदस्य तथा संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले जेठ २९ गतेदेखि चुनावविरोधी चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेका हुन् ।

जसअनुसार जेठ २९ गते देशभरकारका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३० , ३१ तथा असार १ र २ गते मधेस, थरुहट र लिम्बुवान बन्द, सोहि बीचमा हरेक स्थानीय तहमा निर्वाचनविरुद्ध माइकिङ , तालाबन्दी र लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरिएको छ ।।

त्यस्तै असार ३ र ४ गते सबै निर्वाचन केन्द्रहरुमा सहीदहरुको तस्बिर प्रदर्शन गर्ने, ५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने तथा असार ६ देखि १४ गतेसम्म निर्वाचनसम्बन्धी सबै कार्यक्रम र गतिविधिलाई अवरुद्ध पार्ने तय गरिएको छ । असार ८ गते सबै जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली निकाल्ने तथा ९ गते मसाल जुलुस निकाल्ने तय गरिएको छ भने १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल गरिने ठाकुरले बताए ।

राजपाले संविधान संशोधन गरिनुपर्ने, स्थानीय तहको संख्या बढाइनुपर्ने, मधेस आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गरिनुपर्ने, मृतकलाई सहीद घोषणा गरिनुपर्ने, बन्दीको रिहाई र झुटा मुद्दा फिर्ता लिइनुपर्ने लगायतका माग राखेको छ । 

आइतबारमात्रै सत्तारुढ दल हरुसँगको वार्ता विफल भएपछि 'कसरी चुनाव हुन्छ हेरौंला ' भन्दै राजपा फायर भएको थियो । यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको गठबन्धनले जनाएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...